समाज

लोकसेवाको विज्ञापन फिर्ता लिन माग गर्दै प्रदर्शन

भैरहवा– लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) रुपन्देहीले प्रदर्शन गरेको छ। आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित रहेको भन्दै राजपाले रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा प्रदर्शन गरेको हो।

लोकसेवाको विज्ञापन मधेशी, सीमान्तकृत समुदाय विरुद्ध र असंवैधानिक भएकोले विरोध कार्यक्रम गरिएको राजपा नेपाल रुपन्देहीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र गुप्ताले बताए। मुलुकमा जारी गरिएको संविधानमा समावेशी समानुपातिक प्रतिनिधित्वबारे उल्लेख भए पनि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान विरोधी गतिविधि गरेको उनले आरोप लगाए। मधेशी जनताको अधिकार कटौती गर्ने खेलमा सरकार लागेको उनले बताए।

कार्यक्रममा राजपा रुपन्देहीका सचिव विजय चौधरी, युवा नेता पंकज दुवे, प्रेम सागर शुक्ला, अकलेश चौधरी, राष्ट्रिय विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष चन्दन तिवारी लगायतले लोकसेवा आयोगको विज्ञापन मधेशी, जनजाति तथा सीमान्तकृत समुदाय विरोधी भएको बताए।

कार्यक्रममा विभेदकारी ‘लोकसेवा विज्ञापन खारेज गर, मधेशी विरोधी लोकसेवा विज्ञापन खारेज गर, जनताको अधिकार कटौती पाइदैन, आरक्षण बिनाको लोकसेवा विज्ञापन खारेज गर’लगायत नारा लगाइएको थियो। कार्यक्रममा राजपाका नेता तथा पार्टी निकट विद्यार्थीहरुले लोकसेवा आयोगले जारी गरेको विज्ञापनको प्रति जलाएका थिए।

प्रकाशित: २८ जेष्ठ २०७६ १०:१८ मंगलबार

लोकसेवा_आयोग_विज्ञापन राजपा प्रदर्शन