समाज

स्थानीय तहमा महिनावारी स्वच्छता नीति माग

दुवेकोलमा महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रम। तस्बिर: नागरिक

खोटाङ – रावाबेंसी गाउँपालिका–५ दुवेकोलमा क्रियाशील दौतरी शिक्षाकर्मी समूहले महिनावारी स्वच्छता नीति बनाई कार्यान्वयन गर्न माग गरेको छ। वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा हलेसी विकास मञ्च नेपालले सञ्चालन गरिरहेको महिला प्रजनन अधिकार कार्यक्रमअन्तर्गत दुवेकोलस्थित गंगोदय माविमा गठित सो समूहले महिनावारीको समयमा हुने हिंसा अन्त्य गर्न र सरसफाइ सुनिश्चित गर्न स्थानीय तहमा सो नीति बनाई कार्यान्वयनमा ल्याउन माग गरेको हो।

गाउँपालिकाकी उपाध्यक्ष समला राई, दुवेकोलका वडाध्यक्ष गणेश थापा मगर र निमित्त प्रअ रामसागर मण्डललाई ज्ञापनपत्र बुझाउँदै समितिले महिलालाई यातना तथा हिंसाको सिकारबाट मुक्त गर्न र महिनावारीलाई सहज रूपमा लिने वातावरणका लागि आवश्यक पहल तथा अभियान सञ्चालन गर्न आग्रह गरेको छ। महिनावारीको समयमा हुने छुवाछुतलाई कानुनले अन्त्य गरिसकेको भए पनि सामाजिक र व्यावहारिक रूपमा अन्त्य हुन नसकेकाले आवश्यक जागरण र जनचेतना फैलाउन स्थानीय तहलाई अपिल गरिएको समूहकी अध्यक्ष सुमीक्षा निरौलाले बताइन्।

‘छोरा परिपक्व भएपछि भोजभतेर गरेर हर्षोल्लासका साथ व्रतबन्ध गरी विवाह गर्ने लाइसेन्स प्रदान गरिन्छ तर छोरी महिनावारी हुँदा अछुत भनेर पर सर भनिन्छ,’ उनले भनिन्, ‘यस्ता कुप्रथा अन्त्य गर्नु आजको आवश्यकता हो। महिनावारी प्राकृतिक प्रक्रिया हो। महिनावारी हुनु आमा बन्न तयार हुनु हो भन्ने कुरा समाजले बुझ्न नसक्दा र महिनावारीसम्बन्धी समाजमा जरो गाडेर बसेको भ्रमले गर्दा महिला विभिन्न यातना तथा हिंसाको सिकार बनिरहेका छन्।’

यस्तै शिक्षाकर्मी समूहले गाउँपालिकाका हरेक विद्यालयमा महिनावारीमैत्री शौचालय निर्माणको माग गरेको छ। महिनावारीमैत्री शौचालय नहुँदा कतिपय छात्रा विद्यालय जानबाट वञ्चित हुनुपरेको भन्दै समितिले महिनावारीमैत्री सरसफाइ सुविधाका लागि शौचालय निर्माण गर्न र आवश्यक पानीको व्यवस्था गर्न आग्रह गरेको हो। ‘जुन विद्यालयमा छात्राले महिनावारीको समयमा प्याड फेर्ने ठाउँ हुँदैन, दिसापिसाब गर्ने व्यवस्था हुँदैन, त्यो वास्तवमा छात्राका लागि विद्यालय होइन, यातनागृह हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसैले विद्यालयमा शौचालय निर्माण र शौचालयमा पानीको व्यवस्था गर्न विद्यालयका प्रधानाध्यापकलाई अनुरोध गर्दछौं।’

दुवेकोलमा महिनावारी स्वच्छता दिवस

दुवेकोलमा महिनावारी स्वच्छता दिवस मनाइएको छ। अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरी गत मंगलबार अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइएको हो। महिनावारीको समयमा महिलाका लागि आवश्यक स्वास्थ्य सुविधा र यससम्बन्धी गलत धारणा हटाउने उद्देश्यका साथ ‘मर्यादित महिनावारी ः अब काम थालौं’ भन्ने नाराका साथ सो दिवस मनाइएको शिक्षाकर्मी समूहले बताएको छ।

महिनावारी प्राकृतिक प्रक्रिया एवं महिला आमा बन्न परिपक्व बनेको अर्थमा नबुझ्दा महिला विभिन्न यातना तथा हिंसाको सिकार बनिरहेको तथ्यलाई ध्यानमा राखी कार्यक्रम आयोजना गरिएको आयोजक हलेसी विकास मञ्चका कार्यक्रम संयोजक वीरेन्द्र मगरले बताए।

प्रकाशित: १७ जेष्ठ २०७६ ०३:०७ शुक्रबार

स्थानीय_तह महिनावारी स्वच्छता_नीति