समाज

पञ्चमी बजारका पीडितलाई राहत वितरण

कोषको सहयोग प्रदान गर्दै उपाध्यक्ष सपना राई । तस्बिरः नागरिक

खोटाङ– जिल्लामा प्राकृतिक प्रकोप सहयोग कोषले पञ्चमी बजारका अग्नी पीडितलाई राहत प्रदान गरेको छ। गत जेठ ८ गते राती भएको आगलागीमा लाखौंको क्षती बेहोरेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित पञ्चमी बजारका पीडित रामकेश राई र रविनारायण श्रेष्ठलाई राहत प्रदान गरिएको हो।

पीडित राईलाई ७ हजार र श्रेष्ठलाई ३ हजार सहयोग प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्षमा युगसन किरातले बताए। पीडितलाई दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राईले हनिबार राहत हस्तान्तरण गरेकी छन्।

स्थानीय डम्बर खड्काको घरमा होटल तथा पसल सञ्चालन गर्दैआएका राईलाई गाउँपालिकाले पनि ५० हजार र श्रेष्ठलाई २० हजार प्रदान गरेको छ। यस्तै, वडाध्यक्ष पूर्ण खड्का, स्थानीय मोहन राई, लक्ष्मीकुमार राईलगायत पञ्चमी बजारबासीको पहलमा संकलन भएको ६६ हजार १२० रुपैयाँ पीडित राईलाई प्रदान गरिएको थियो।

आगलागीमा खड्काको पूर्ण क्षती र श्रेष्ठको घरमा आंशिक क्षती पुगेको थियो। आगोले खड्काको घर जल्दा १३ लाख, सोही घरमा व्यवसाय गर्दैआएका राईको नगद १ लाख, होटल तथा पशलका सामान जल्दा ३ लाख क्षती भएको प्रहरीले जनाएको छ। आगो खड्काको घरबाट सुरु भएको थियो।

 

 

प्रकाशित: १२ जेष्ठ २०७६ ०८:४० आइतबार

पञ्चमी_बजार पीडित राहत