समाज

सोलार चोरीपछि गाउँमा पानी हाहाकार

रुकुम - सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१० माझकाँडाका रामलाल यरीको परिवारले गाउँ छोडेको छ। माझकाँडामा पानीको हाहाकार भएपछि यरी परिवार बाध्य भएर ढोरपीपलमा बसाइँ सरेको हो। माझकाँडाबाट मनबहादुर पुनको परिवार पनि ढोरपीपलमा बसाइँ सरेको छ। गाउँमा एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता भएपछि आफूहरूले गाउँ छोडेको रामलाल र मनबहादुरले बताए।

बढ्दो गर्मीका कारण पानीको मुहान सुक्दै गएपछि माझकाँडाका स्थानीय धमाधम विस्थापित हँुदै छन्। मामा खानेपानीको हाहाकार भएसँगै पानीको खोजीमा स्थानीय अन्यत्र लाखापाखा लागेका छन्। केही वर्षअघि निर्माण गरिएको लिफ्ट खानेपानी आयोजनासमेत अलपत्र अवस्थामा छ। लिफ्ट खानेपानी आयोजनाको सोलार चोरी भएपछि गाउँमा खानेपानीको हाहाकार भएको स्थानीय बताउँछन्।

दैनिक तीन घण्टा हिँडेर ल्याएको तीन गाग्री पानीले परिवारलाई पु¥याउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ताले सताउने गरेको छ।

खानेपानीको स्रोत र विकल्प नभएपछि गाउँबाट दैनिक बसाइँसराइ हुन थालेको स्थानीय प्रेमबहादुर पुनले बताए। लामो खडेरीसँगै पानीको मुहान सुक्न थालेपछि खानेपानीको खोजीमा स्थानीय गाउँ छोड्न बाध्य भएका हुन्। पुनका अनुसार गाउँमा करिब तीन घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता सिर्जना भएको छ। दिनभर तीन–चार गाग्री पानी ल्याएर दिनचर्या सञ्चालन गर्नुपर्ने बाध्यता छ भने नुहाउन, कपडा धुन महिना दिनभन्दा बढी समयदेखि बन्दजस्तै छ। मनमाया बुढाका अनुसार दैनिक तीन गाग्री पानीले परिवारलाई पु¥याउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ताले सताउने गरेको छ। गाउँमा आकासे पानी संकलनका लागि निर्माण गरिएका पोखरीमा जम्मा भएको पानीसमेत सुकेको बुढाले बताइन्। बर्खामा धेरै पानी नआएका कारण आकासे पानी संकलनका लागि निर्माण गरिएका ट्यांकीसमेत रित्ता भएका छन्। खानेपानीकै अभावका कारण बसाइँसराइको क्रम बढेपछि स्थानीय बालबालिकाको पढाइसमेत प्रभावित भएको छ।

मान्छेलाई खानका लागि टाढा रहेको मुहानबाट जसोतसो काम चलेको भए पनि गाईभैंसीलाई खुवाउन र सरसफाइ गर्न निकै समस्या भइरहेको स्थानीय बताउँछन्। ‘चार घण्टा लगाएर बोकेको पानी खानु कि शौचालयमा प्रयोग गर्नु ?,’ स्थानीय रमिता खत्रीले भनिन्, ‘खानेपानीको अभावका कारण घर र विद्यालयमा बनाइएका शौचालयसमेत प्रयोगविहीन हुन थालेका छन्।’

खानेपानीको अभावका कारण अहिले यहाँको बस्ती नै पातलो बन्दै गइरहेको नगर उपप्रमुख मञ्जु यरीले बताइन्। खानेपानीको अभावका कारण यो वर्ष अहिलेसम्म दुई सयभन्दा बढी घरपरिवारले माझकाँडा छोडेका छन्। यसरी गाउँ छोडेर गएकाहरू बर्खाको समयमा भने पुनः माझकाँडामा नै फर्कने गरेको उपप्रमुख यरीको भनाइ छ। ‘यहाँ खानेपानी अभाव हुँदा पानी भएको ठाउँमा जाने गर्छन्,’ उनले भनिन, ‘बर्खाको समयमा पुनः गाउँ फर्कन्छन्। पानीका कारण जिल्लाबाहिर बसाइँसराइ गरेर जाने पनि केही छन्।’

नगरपालिकाका अन्य ठाउँमा पनि खानेपानीको समस्या उस्तै छ। बामे, घाँजरीपीपल, निगालचुला, कुपिण्डेका विभिन्न ठाउँमा स्रोत अभावका कारण खानेपानीको समस्या हुने गरेको छ। अधिकांश जग्गा भिरालो हुनुका साथै बस्तीसमेत पहाडको टुप्पोमा रहेका कारण गाउँमा खानेपानीको समस्या हुने गरेको हो। यरीका अनुसार पानीको स्रोत तल्लो भागमा हुने र बस्ती माथि हँुदा पानीको चरम समस्या हुँदै आइरहेको छ। कुपिन्डेमा खानेपानीको समस्या दिगो रूपमा समाधान गर्न प्राविधिक प्रतिवेदन (डिपिआर) तयार गरिसकेको नगरपालिकाले जनाएको छ। नगरपालिकाको स्रोतले मात्र खानेपानी पु¥याउन सक्ने अवस्था नभएकाले प्रदेश र संघीय सरकारलाई बजेटको लागि अनुरोध गरिएको नगर उपप्रमुख यरीले बताइन्। ठूलो लगानी चाहिने भएकाले सम्भवतः अर्काे आर्थिक वर्षमा यहाँ खानेपानीको काम सुरु हुने उनको विश्वास छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:०७ आइतबार

सल्यान सोलार पानी हाहाकार