समाज

शिक्षक बेपत्ता पार्नेलाई पाँच वर्ष कैद, वडाध्यक्ष छुटे

वेपत्ता रहेका आधारभुत विद्यालय पेल्माका शिक्षक मख्ख केसी ।

रुकुम– रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका २ पेल्मामा रहेको आधारभुत विद्यालय शिक्षक मख्खन केसी वेपत्ता पारेको अभियोगमा दुई जनालाई पाँच वर्षको कैद सजायँ तोकिएको छ। 

शिक्षक केसी गत भदौ १४ देखि वेपत्ता छन्। उनलाई साउन ३१ गते कुटपिट गरेर वेपत्ता पारेको अभियोगमा दोषी ठहर गर्दै रुकुमकोट जिल्ला अदालतका न्यायधीश दुर्गाबहादुर भुसालको एकल इजलासले सोही गाउँपालिका १० तकका खिन्टे भनेर चिनिने विकास बुढामगर र वडा नं. २ कारामराज भनिने रामकृष्ण झाँक्रीलाई पाँच/पाँच वर्षको कैदको फैसला सुनाएको हो।

अदालतका सूचना अधिकारी निर्मला शर्माका अनुसार फैसलामा जनही पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। अदालतले उनीहरुलाई गत कात्तिक ११ गते पूर्पक्षका लागि कारागार चलान गरेको थियो। 

बुढा र झाँक्रीसहित वडा नं. २ का वडाध्यक्ष सतसिङ बुढा र उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामीलाई पनि अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको थियो। वडाध्यक्ष बुढा र विव्यवस अध्यक्ष कामी भने निर्दाेष ठहरिदै छुटेका छन्। 

उक्त घटनाका कसुरदारलाई आश्रय दिएको भन्दै गाउँपालिका– २ पेल्माका विनोद खत्रीलाई नौ महिना कैद सजायँ सुनाइएको अदालते जनाएको छ। केसीलाई बेपत्ता पारेकै अभियोगमा सोही वडाका दुई अभियुक्त धर्मसुर बुढा र थकान पुन भने अझै फरार छन्। उनीहरु अदालतमा उपस्थित भएपछि मात्र फैसला हुने भएको छ। 

फैसलामा पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत भराइदिन आदेश गरिएको छ। जिल्लाको सिस्ने गाउँपालिका–६ रुकुमकोट घर भएका शिक्षक केसीको अवस्थाका बारेमा अहिलेसम्म पनि कुनै जानकारी छैन्। उनी जिवित छन् या मृत्यु भयो भन्ने कुराको कुनै जानकारी नभएको परिवारले बताएको छ। शिक्षक केसीका दाजु मोहनको किटानी जाहेरीपछि अभियुक्तलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको थियो। 

खिन्टे भनिने बुढामगर यस भन्दा अगाडि पनि जबरर्जस्ती करणी उद्योगमा साढे एक वर्ष कैद सजाय भुक्तान गरेको अदालतले जनाएको छ। अदालतका अनुसार अहिले बेपत्ताको मुद्दामा सजाय भुक्तानको लागि कारागार रहेका बुढाको नाममा ज्यान मार्ने उद्योगको मुद्दा पनि दर्ता भएको छ। 

अदालतको फैसला पछि बुढा र झाँक्रीलाई रुकुम (पश्चिम)मा रहेको जिल्ला कारागारमा राखिएको छ। रुकुम (पूर्व)मा कारागार नभएका कारण (पश्चिम) पठाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: २ जेष्ठ २०७६ १३:०२ बिहीबार

वेपत्ता शिक्षक कैद_सजाय अदालत रुकुम_(पूर्व)