समाज

रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडक शुक्रबारदेखि सञ्चालन हुने

मैलुङ–स्याफ्रु सडक खण्डमा ढलान गरिँदै। तस्बिर/हिमनाथ

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ।

सडक खण्डको त्रिशूली खोलामा ढलान गरिएको कारण सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए। ‘बुधबार ढलानको काम सकिएको छ,’ उनले भने, ‘तत्काल सवारी सञ्चालन गर्दा असर पर्ने देखिएकाले २४ घण्टाको लागि सवारी सञ्चालन रोकिएको हो।’

मैलुङ स्याफ्रुबेँसी सडक बन्द भएपछि बेत्रावती धुन्चे सडक खण्डमा सवारीको चाप बढेको थियाे। नाका जोड्ने दुईवटा सडक भएका कारण सवारी आवागमन रोकिएको भने छैन्। सडक माथिबाट त्रिशूली खोला बग्दा दुर्घटनाको जोखिम बढेको थियो।

मैलुङ स्याफ्रुबेँसी सडक सञ्चालनमा आएपछि बेत्रावती धुन्चे सडक खण्डमा सवारीको चाप घट्ने छ। पासाङ ल्हामु सडक खण्डमा धेरै घुम्ती भएको, लामो दूरी भएको र सडक जीर्ण भएका कारण मैलुङ–स्याफ्रुबेँसी सडकमा सवारी सञ्चालन बढेको हो।

२०७२ वैसाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत वर्षकाे जेठ ६ गते ट्रयाक खोल्ने कार्यसम्पन्न भएको थियो। ट्रयाक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो।

राष्ट्रिय योजना आयोगको मध्यकालिन खर्च संरचना (२०७५/७६–०७७/७८) मा उल्लेख भए अनुसार आर्थिक वर्ष २०६१/६२ सालदेखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना २०७५/७६ भित्र निर्माण तथा स्तरोन्नती भएको हुने उल्लेख छ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु मार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन्। काठमाडौँदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्रु १६ किमी दूरी रहेको छ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन।

मैलुङ–स्याफ्रुबेँसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेँसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङ ल्हामु मार्ग अन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०६:५० बिहीबार

मैलुङ–स्याफ्रुबेँसी_सडक व्यापारिक_नाका रसुवागढी