समाज

दुईपटक म्याद सकियो, काम सकिएन

कृष्ण मोटरमार्गको अवलोकनको क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत। तस्बिरः नागरिक

तनहुँ– दुई जिल्लालाई जोड्ने कृष्णमार्ग स्तरोन्नतिको काम सम्पन्न गर्ने म्याद सकिएको दुई वर्ष नाघ्दासमेत कामले गति लिन सकेको छैन।

तनहुँको घिरिङ देउरालीदेखि स्याङ्जाको केलादीघाटसम्मको २४ किलोमिटर दूरीको सडक कालोपत्रे, ओटासिल र पक्की नाला बनाएर १५ महिनामा सक्नेगरी निर्माण कम्पनी सन्तोषी निर्माण सेवासँग सम्झौता भएको थियो। जिल्ला प्राविधिक कार्यालय नवलपुरका अनुसार २०७३ वैशाखमा १५ महिनाभित्र काम सक्नेगरी सम्झौता भएको हो। पुनः आठ महिनाको समय थप गरिएकोमा हालसम्म काम सम्पन्न भएको छैन।

सम्झौताअनुसार म्याद सकिएको दुई वर्ष बित्दा पनि ठेकेदारको लापरबाहीका कारण काममा ढिलाइ भएको उपभोक्ता समितिका अध्यक्ष चुननारायण श्रेष्ठले बताए। ‘१५ महिनामा सक्नेगरी ठेकेदारसँग सम्झौता गरिएको थियो। सम्झौताको तीन वर्षसम्म पनि काम पूरा भएन,’ उनले भने, ‘अहिले आएर बल्ल ग्राभेलको काम सुरु भएको छ।’

सडक फराकिलो बनाउने काम हुँदै गर्दा ठेकेदारले काम छोडेर हिँडेको थियो। अहिले ग्राभेल गर्ने, ह्युमपाइप राख्ने, नाला बनाउने काम सुरु भएको श्रेष्ठले जानकारी दिए। २० प्रतिशतको हाराहारीमा पनि काम नभएको उनको अनुमान छ।

सडकको काम कछुवाको गतिमा हुँदा यात्रुवर्ग र स्थानीयलाई सास्ती भएको उनको भनाइ छ। ‘सडक नबन्दा यात्रुले हैरानी व्यहोर्नुपरेको छ,’ उनले भने, ‘घाम लाग्दा धुलो उडेर हिँड्नै सकिँदैन, पानी परेका बेला हिलोले गाडी ओहोरदोहोर गर्न कठिन छ।’

सडकको दायाँबायाँका बस्तीमा धुलोले बस्नै नसकिने श्रेष्ठ बताउँछन्। ‘सडकछेउछाउका घाँसपात भैसी बाख्रालाई खुवाउन योग्य नहँुदा हैरान छन्,’ उनले भने। विश्व बैंकको सहयोगमा सञ्चालित राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण परियोजना (एसएनआरटिपी)मार्फत १० करोड ७६ लाख लागतमा दुई किलोमिटर ओटासिल गर्ने, २२ किलोमिटर ग्राभेल र १४ किलोमिटरमा पक्की नाला बनाउने गरी सम्झौता भएको थियो।

यसअघि संघीय सरकारमातहतको उक्त सडक हाल प्रदेश सरकारमातहत आएको छ। स्थानीयले सडक निर्माणमा ढिलाइ भएको भन्दै गुनासो गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ र भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले अनुगमन गरेका छन्।

अनुगमनको क्रममा मुख्यमन्त्री गुरुङले सडक स्तरोन्नतिमा अब ढिलाइ नहुने बताए। ‘यसअघि जे जस्तो भए पनि अब निर्माणले तीव्रता पाउँछ। विकास निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन,’ उनले भने। उनले काममा ढिलाइ गर्ने ठेकदारलाई तुरुन्त काम अगाडि बढाउन निर्देशन दिने आश्वासन दिए। संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडकको स्तरोन्नति र निर्माणको कामलाई दु्रत गतिमा अगाडि बढाउने उनको दाबी छ।

प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रदेशका सबै स्थानीय तहका केन्द्रमा पक्की सडक बनाउने लक्ष्य रहेको जानकारी दिए। उनले विकास निर्माणमा बजेट अभावले ढिलासुस्ती नहुने प्रस्ट्याए।

प्रकाशित: १ जेष्ठ २०७६ ०६:२४ बुधबार

कृष्णमार्ग_स्तरोन्नति ठेकेदार म्याद_थप