समाज

वडा सदस्य छाडेर शिक्षण पेशामा

सोलुखुम्बु – नेचासल्यान गाउँपालिका– ५ कि वडासदस्य रीताकुमारी शर्माले वडासदस्य छाडेर पढाउन थालेकी छिन्। उनले सोलुदुधकुण्ड नगरपालिका १ हेवास्थित दूधकुण्ड आधारभूत विद्यालयमा शिक्षक पदमा नियुक्ति लिएको अर्का वडा सदस्य उत्रमान राईले जानकारी दिए। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित शर्माले एक वर्षपछि तत्कालीन वाम गठबन्धनलाई सघाउने भन्दै दल बदलेकी थिइन्।

विद्यालयले जारी गरेको सूचनाका आधारमा आवेदन दिई परीक्षामा उत्कृष्ट बनेपछि उनले करारमा शिक्षण पेसा सुरु गरेको विद्यालयले जनाएको छ। विद्यालयबाट शुक्रबार नियुक्ति लिएर नगरपालिकाको शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय एकाइमा जानकारी गराएको शर्माले बताइन्। उनले भनिन्, ‘आइतबार वडा सदस्य पदबाट राजीनामा दिने सोच बनाएकी छु।’ राजनीतिबाट वितृष्णा जागेर आएकाले शिक्षण पेसा रोजेको शर्माको भनाइ छ।

प्रकाशित: २९ वैशाख २०७६ ०२:५८ आइतबार

नेचासल्यान_गाउँपालिका वडा_सदस्य शिक्षण