समाज

गोसाइँकुण्ड–हेलम्बु म्याराथनको तयारी पूरा

रसुवा - गोसाइँकुण्ड हेलम्बु म्याराथनको तयारी पूरा भएको छ। यही वैशाख २८ गते शनिबार सञ्चालन गर्न लागिएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक हेलम्बु ट्रेल रनिङ क्लबले जनाएको छ।

पर्यटन मार्गहरू हराउँदै जान थालेकाले यसको प्रचार प्रसार गर्नका लागि म्याराथनको आयोजना गरिएको क्लबका अध्यक्ष मनिस तामाङले बताए । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउन लागिएकाले यसलाई सहयोग पुग्ने बिश्वास लिइएको छ ।धावक उत्पादन गर्ने, पर्यटन मार्गको प्रचार प्रसार गर्ने र नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउनका लागि म्याराथुन आयोजना गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा ५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।  

‘४८ जनाले नाम दर्ता गराइसकेका छन्, उनले भने, अन्य पनि सहभागि हुने गरी सम्पर्कमा आएका छन् ।’ प्रतियोगितामा सहभागि हुने टोली बिहिबार चोलाङपाटी पुग्ने छन् । शुक्रबार चोलाङपाटीबाट गोसाइँकुण्ड हाइकिङ गर्ने छन् । शनिबार बिहान ६ बजेबाट रसुवाको चोलाङपाटी, गोसाइँकुण्ड हुँदै हेलम्बुको मराम्चीमा पुगेर सम्पन्न हुने छ । यसको दूरी ४२ किलोमिटर रहने छ । म्याराथनमा पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने विजेतालाई १५ हजार रुपयाँ प्रदान गरिने छ । सिन्धुपाल्चोकबाट सहभागि हुने धावकले भने प्रोत्साहन वापत थप रकम पाउने छन् ।

पहिलो हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई १ हजार ५ सय रुपयाँ थप रकम उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालेृ आर्थिक सहयोग गरेको छ ।

 

 

प्रकाशित: २६ वैशाख २०७६ ०५:५६ बिहीबार

म्याराथन हेलम्बु_ट्रेल_रनिङ_क्लब प्रतियोगिता