समाज

सार्वजनिक गौचर जग्गा व्यक्तिको नाममा

नम्बरी बनाइएको गौचर जग्गा निरीक्षण गर्दै कलैया उपमहानगरपालिकाको टोली।

बारा - कलैया उपमहानगरपालिका–१७ किरकिचहा खोलास्थित गौचर पर्ती जग्गा नम्बरी बनाउन भूमाफियाहरू सफल भएको सार्वजनिक भएको छ। साविक बन्जरिया–९ हाल कलैया उपमहानगरपालिका–१७ को कित्ता नम्बर १ को ५ बिगाहा ८ कट्ठा १० धुर क्षेत्रफल भएको तीन करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने सार्वजनिक जग्गा भूमाफियाहरूले व्यक्तिको नाममा दर्ता गराउन सफल भएका हुन्।

२०२१ सालको नापीमा सो जग्गा गौचर पर्ती कायम गरिएको फिल्ड बुकमा उल्लेख गरिएको जिल्ला नापी कार्यालय कलैया, बाराले जनाएको छ। भूमाफिया समूहले हालै सो जग्गा प्लटिङ गरी बिक्रीका लागि डोजर लगाएर खाल्डो पुर्ने काम गरिरहेको बेला स्थानीयले थाहा पाई त्यसको विरोध गरिरहेका छन्। सो जग्गा हेटौंडा उपमहानगरपालिका–२ की शिवकुमारी पण्डितको नाममा दर्ता भएको थाहा पाएपछि त्यसलाई खारेज गराउन र दोषीलाई कारबाही गर्न सुराही र बन्जरियाका स्थानीयले कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव र बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेश पौडललाई ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीयबाट सो जग्गा नम्बरी बनाएको थाहा पाएपछि कलैयाका प्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेले जग्गा भएको स्थानमै पुगी स्थानीयसँग बुझ्ने कामसमेत गरेका छन्। स्थानीयसँग बुझ्दा र जग्गाको फिल्ड बुक हेर्दा गौचरण पर्ती खोलिएको अवस्था रहेको र त्यस जग्गामा सुराही, बन्जरियाका स्थानीयले गाईगोरु चराउने गर्दै आएको खुल्न आएको कलैयाका प्रमुख यादवले बताए। उनले सो जग्गा शिवकुमारी पण्डितको नाममा कसरी र कहिले दर्ता गरिएकोबारे मालपोत कार्यालय बारासँग बुझ्ने कार्य सुरु गरिसकिएको जानकारी दिए।

बन्जरियाका किसानले २०२० सालदेखि नै किरकिचहा खोलामा सिँचाइका लागि बाँध बाँधी सो जग्गामा कुलो बनाएको स्थानीयले बताएका छन्। किसानले सिँचाइका लागि बाँध बाँध्दै आएका र गाईगोरु चराउँदै आएको सार्वजनिक जग्गालाई पुनः सार्वजनिक गर्नुपर्ने माग गर्दै कलैया उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बारालाई जानकारी गराएको प्रसौनी गाउँपालिका–७ बन्जरियाका वडा अध्यक्ष राममणि गुप्ताले बताए। त्यसैगरी भूमाफियाहरूले साविक बन्जरिया–९ हाल कलैया उपमहानगरपालिका–१७ को कित्ता नम्बर २८७ को १३ कट्ठा सार्वजनिक जग्गा पनि नम्बरी बनाएको सार्वजनिक भएपछि वर्षौंदेखि त्यहाँ घर बनाई बसेका स्थानीयलाई अहिले समस्यामा भएको सुराहीका मन्सी महतो नुनियाले बताए।

प्रजिअ पौडेलले स्थानीयले ज्ञापनपत्र बुझाउने क्रममा पेस गरेका कागजपत्रले उक्त जग्गा २०२१ सालको नापीमै गौचर पर्ती रहेको देखिएको जनाए। उनका अनुसार गौचर पर्ती कायम जग्गा व्यक्तिको नाममा दर्ता कुन प्रक्रियाले गरिएको हो सोबारे एक साताभित्र जानकारी गराउन जिल्ला मालपोत कार्यालय बारालाई पत्र लेखिसकिएको छ।

प्रकाशित: २६ वैशाख २०७६ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App