समाज

गाउँमै उद्यमशील सुजता

घरेलुले दिएको सिलाइ मेसिनका साथ ताप्लेजुङको मैवाखोला–३ साँघुकी उद्यम सञ्चालक सुजता लिम्बू। तस्बिरःखगेन्द्र/नागरिक

ताप्लेजुङ–५ वर्षअघि घरेलु तथा साना उद्योग विकास समितिले दिएको सीप विकास तालिममा सहभागी हुँदा ताप्लेजुङको मैवाखोला–३ साँघुकी सुजता लिम्बूलाई सिकेको सीपबाट उपार्जन सम्भव होला कि नहोला भन्ने दोधार थियो। दोधारकै बीच उनले ४५ दिने सिलाई–कटाई तालिममा सहभागिता जनाइन्। सीप हासिल गर्न जागरुक बन्ने उनका लागि घरेलुले पुनः सीप विकाससम्बन्धी पुनःताजकी तालिममा सहभागी गरायो। अहिले उनी गाउँमै उद्यमी बनेकी छन् र आफूले पाएको सीपलाई प्रयोग गरेर जीवन धान्ने गरी आम्दानी गर्न थालेकी छन्।

सिकेको सीपलाई उपयोगी बनाउन सकेमा जीवन धान्ने आम्दानी आर्जन गर्न रोइलो गर्नु नपर्ने उदाहरणकी पात्र सुजताले मैवाखोला गाउँपालिकाको केन्द्र साँघु पाटीमा सिलाई–कटाई केन्द्र खोलेकी छन्। मासिक सरदर २५ हजार रुपैयाँसम्म कमाउन उनलाई केहीले अवरोध गरेको छैन। सिलाई–कटाई केन्द्र खोलेकै ठाउँमा गाउँपालिकाको केन्द्र बनेपछि त झन् पहिलेभन्दा बढी काम आउन थालेको छ। विद्यालय नजिकै भएकोले विद्यालय पोसाकदेखि लिएर कर्मचारीका पोसाकसम्म सुजता आफैंले सिलाउने गर्छिन्। सिलाई–कटाई केन्द्रमै उनले कपडा दोकानसमेत सुरु गरेकी छन्। कपडा किन्न आउनेले उनैलाई सिलाउन दिन्छन्। यसले उनको आम्दानीमा दोहोरो सफलता पनि हात लागेको छ।

वैशाख–जेठ महिना सेवाग्राहीको सबैभन्दा बढी चाप हुने समय हो। शैक्षिक सत्र सुरु हुने यो अवधिमा विद्यालय तथा शिक्षक पोसाकका लागि ग्राहकको भीड लाग्ने गरेको छ। ‘कपडा पनि पाउने र सिलाउन पनि त्यहींबाट सकिने भएकोले अहिलेसम्म व्यवसायलाई दोेष दिने ठाउँ छैन’,सुजताले व्यावसायिक सन्तुष्टि पोख्दै भनिन्। सीप सिक्दै गर्दा सीप प्रयोगमा समेत जागरुक देखेर घरेलु तथा साना उद्योग विकास समितिले उनलाई एकथान सिलाई–मेसिन दियो। उद्योग अधिकृत सुनिल आचार्यले सीप प्रयोगमा दख्खल देखिएपछि सुजतालाई सीपसँगै उद्यमी बन्ने प्रक्रियामा सघाउन सिलाई–कटाई मेसिनसमेत दिएको बताए। सुजतामा सिलाइको अनुभव राम्रो अनुभव देखेपछि गाउँपालिकाले समेत उनलाई एक थान इन्टरलक मेसिन दिएको छ। ‘सहयोग पनि पाएकी छु, सद्भाव पनि’ सुजताले हाँस्दै भनिन्।

कोटबाहेक अरु सबै प्रकार लुगा–कपडा सिलाउन सक्ने सुजताले यस वर्ष कोट सिउने सीपसमेत हासिल गर्ने योजना बनाएकी छन्। सबै प्रकारका लुगा सिएर दिन सक्ने सीप लिएपछि उनमा आफ्नै सिलाई–कटाई केन्द्रमार्फत गाउँले समेतलाई सिलाई–कटाई सीप हस्तान्तरण गर्ने सोच छ। यसका लागि उनले गाउँपालिका र घरेलुलाई समेत सहयोग माग्ने योजना बुनेकी छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी गाउँमै उद्यम बन्न चाहनेहरूका लागि कार्यपालिकाले नीतिगत योजना स्वरुप कार्यविधिसमेत बनाएको भन्दै उद्यमीहरूको सहयोगका लागि सदैव तयार रहेको बताउँछन्। उनले घरेलु कार्यालयसँगको सहकार्यमा उद्यमशीलता विकास र सीप विकासका कार्यक्रमसँगै लघुउद्यमीहरूलाई उनीहरूको प्रचूर आवश्यकताको हिसाबमा सहयोग गर्न सकिने बताए। सिकेको सीपलाई प्रयोग गर्दै आएका र सीप सिकेर गाउँमै उद्यमी बन्नेहरूलाई गाउँपालिकाले प्रोत्साहित गर्ने नीति लिएको समेत उनले जानकारी दिए। उद्योग अधिकृत आचार्यले सीप सिक्ने अवधिलाई फोगटको रुपमा होइन, साँच्चै व्यावहारिक बनाएर उद्यमी बन्न चाहनेहरूका लागि कार्यालयले अनुदानसहितका कार्यक्रममार्फत सहयोग गर्ने बताए। उनले सीप खेर नजाने भएकोले उद्यमी बन्नेहरूका लागि पछिल्लो समय एउटा अवसरको रुपमा प्राप्त भएको भन्दै यसलाई उपयोग गर्न आग्रह गरेका छन्। घरेलुले चालु आर्थिक वर्षभित्र मात्र करिब ६ सय जनालाई उद्यमशीलता सम्बन्धी तालिम उपलब्ध गराएको जनाएको छ।

प्रकाशित: २५ वैशाख २०७६ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App