समाज

वीरका उपकरण बिग्रिए, सेवा प्रभावित

काठमडौं - राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका आधा दर्जनभन्दा बढी उपकरण बिगे्रपछि सेवा प्रभावित भएको छ। अस्पतालका अनुसार अत्यावश्यक फलोरस्कोपी (पेटको रोग पत्ता लगाउने) मेसिन, अल्ट्रासाउन्ड, एक्स–रे, इन्डोस्कोपी, चार वटा हेमोडाइलोसिस मेसिन, सिटिसक्यान मेसिन, इनएनटी माइक्रोसकोपी, ७ वटा भेन्टिलेटर मेशिन, १५ वटा डेन्टल चियर बिग्रेका छन्।

उपकरण बिग्रँदा सेवा प्रभावित भएको अस्पतालले जनाएको छ। मेसिन बिग्रँदा शल्यक्रिया, भिडियो एक्सरे, इण्डोस्कोपी, हेमोडाइलोसिस, दाँतको उपचारलगायतका सेवा प्रवाह लम्बिएर हप्तौंदेखि महिनौं लाग्ने भएको छ। ‘काम चलाउका लागि अन्य उपकरण अस्पतालमा रहे पनि बिरामीले लामो समय पर्खेर सेवा लिनु परेको अस्तपालका निर्देशक केदार सेन्चुरीले बताए। बिग्रेका केही मेसिनको मर्मत भएको र कतिपयको मर्मत भइरहेको छ। धेरैजसो मेसिन मर्मत हुन नसक्ने अवस्थाका छन्। निर्देशक सेन्चुरीका अनुसार उपकरण मर्मतको लागि करोडौं लाग्छ। सिटीसक्यान मर्मत गर्न डेढ करोड, मर्मत गर्न नमिल्ने इन्डोस्कोपी मेसिनको ठाउँमा नयाँ किन्न एक करोड, फलोरस्कोपी किन्न ५०÷६० लाख रुपैंया लाग्छ।

सबै मेसिन मर्मत तथा नयाँ खरिद गर्न १० देखि १५ करोड लाग्ने अनुमानित बजेट सम्बन्धित शाखाहरुले पेश गरे पनि बजेट अभावका कारण टेण्डर प्रक्रिया अघि नबढेको अस्पतालले जनाएको छ। चालू आर्थिक वर्षमा वीर अस्पतालको लागि सरकारले एक अर्ब ७ करोड बजेट विनियोजन भएको थियो। निर्माणाधीन भवन, दुवाकोटमा बन्ने भनिएको वीर अस्पतालको बजेटसहित कुल बजेट छुट्टिएको कारण धेरै देखिन गएको अस्पतालले जनाएको छ। ‘सरकारी खरिद ऐन प्रक्रियाले पाँच लाख भन्दा माथिको सामान सिधै खरिद गर्ने अधिकार छैन। प्रक्रियमा जाँदा नयाँ आर्थिक वर्ष भेट्छ,’ उनले भने। टेण्डर प्रक्रियामा जाँदा समय लामो लाग्ने भएकोले पनि उपकरण प्रतिस्थापन तुरुन्तै सम्भव नदेखिएको उनले बताए।

प्रकाशित: १९ वैशाख २०७६ ०२:४९ बिहीबार

राष्ट्रिय_चिकित्सा_विज्ञान_प्रतिष्ठान वीर_अस्पताल सेवा_प्रभावित