समाज

बेइज्जत गरेको रिसमा साथीको हत्या !

रुकुम – हत्या आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको कपुरकोट गाउँपालिका–५ का २५ वर्षीय निर्मल बुढालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

सोही गाउँपालिका ६ खोलीगाउँका ३९ वर्षीय श्याम भन्ने फौदबहादुर भण्डारीलाई हत्या गरेको आरोप प्रहरीले उनीमाथि लगाएको छ।

लामो समयदेखि भारत चन्डीगढ बस्दै आएका भण्डारीको घर फर्किने क्रममा गत वैशाख ४ गते राति टाउकोमा लाठी प्रहारबाट मृत्यु भएको थियो।

भारतको चन्डीगढमा सँगै होटलमा काम गर्ने क्रममा मृतक भण्डारीले अभियुक्त बुढालाई अश्लील शब्द प्रयोग गरेर अपमान गरेका र त्यही रिस फेर्न हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

भण्डारीको हत्यालगत्तै बुढा फरार थिए। उनलाई घर नजिकैको जंगलमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको उनले बताए। पक्राउ परेका बुढालाई सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पेस गरेर म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रकाशित: १६ वैशाख २०७६ १३:१४ सोमबार

सल्यान_प्रहरी रिस साथी_हत्या