समाज

जग्गा लिजमा पूर्वाधार बनाउन समस्या

चितवन - भरतपुर अस्पतालका नाममा ३० बिघा ११ कट्ठा ६ धुर जग्गा भए पनि आवश्यक पूर्वाधार निर्माणका लागि अस्पताललाई जग्गा अभाव बेहोर्नुपरेको छ। अस्पतालले उपभोग गर्ने जग्गा जम्मा ११ बिघा मात्र रहेको मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बताए। अस्पतालका नाममा रहेको बाँकी जमिन विभिन्न संस्थाले प्रयोग गर्दै आइरहेका उनको भनाइ छ। सबैभन्दा बढी करिब सात बिघा कलेज अफ मेडिकल साइन्सेस (भरतपुर मेडिकल कलेज) को प्रयोगमा छ। सन् १९९४ मा सो जग्गा ४९ वर्षका लागि मेडिकल कलेजलाई भाडामा दिने सम्झौता गरिएको हो। अत्यन्त न्यून भाडादरमा जग्गा उपभोग गर्न दिइएको पौडेलले जानकारी दिए।

भाडामा दिँदा एक बिघाको एक वर्षमा ५० हजार रुपैयाँ तिर्नेगरी सम्झौता गरिएको थियो । जसमा वार्षिक रूपमा १० प्रतिशत भाडा बढ्ने प्रावधान समावेश थियो। पछि २०६२ सालमा अस्पताल सञ्चालक समितिले भाडा दर बढाएर सो प्रावधान हटायो। वार्षिक रूपमा बिघाको एक लाख रुपैयाँ भाडा थप हुनेगरी सो प्रावधान हटाइएको थियो। कलेजलाई लामो समयका लागि जग्गा भाडामा दिइए पनि नियमित रुपमा भाडाबापतको शुल्क अस्पतालमा नआउने गरेको उनले बताए। यस्तै, अस्पतालको नाममा रहेको जग्गा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) ले पनि प्रयोग गरेको छ। अस्पतालको करिब सात बिघा जग्गा २०३३ सालमा त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानलाई अनमी कार्यक्रम सञ्चालनमा उपयोग गर्न दिइएको थियो। अनमी कार्यक्रम सञ्चालन हुन सकेनन। संस्थानलाई दिइएको जग्गामा सिटिइभिटीले स्कुल अफ हेल्थ साइन्स सञ्चालन गरेको छ। ‘यसबारे अस्पतालसँग कुनै सम्झौता भएको देखिँदैन,’ मेडिकल सुपरिटेन्डेन्ट पौडेलले भने, ‘यो जग्गाको भाडा आउँदैन, त्यसैले जग्गा फिर्ताका लागि पहल गरिरहेका छौं।’

अस्पतालको तीन बिघा १७ कट्ठा १० धुर जग्गा नेपाल नेत्रज्योति संघले सञ्चालन गर्दै आएको भरतपुर आँखा अस्पताललाई दिइएको छ। आँखा अस्पताललाई जग्गा प्रयोग गर्न निःशुल्क दिइएको हो। यसरी ठूला प्लट मात्र नभई अस्पतालको जमिन टुक्रा बनाएर पनि विभिन्न कार्यालयलाई प्रयोग गर्न दिइएको छ। भरतपुर अस्पतालकै जग्गामा तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्न निःशुल्क १० कट्ठा १० धुर प्रयोग गर्न दिइएको छ। नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार केन्द्रलाई दुई कट्ठा १० धुर जग्गा निःशुल्क दिइएको हो। २०४३ सालदेखि केन्द्रले अस्पताल परिसरको जग्गामा भवन निर्माण गरेर सेवा सञ्चालन गर्दै आइरहेको छ। यस्तै अस्पताल हाताभित्र साझा औषधि पसल सञ्चालन गर्न साझा स्वास्थ्य सेवालाई एक कट्ठा १० धुर जग्गा भाडामा दिइएको छ। साझाले २०५० सालदेखि जग्गाको उपभोग गर्दै आएको छ।

यथेष्ट जग्गा भएर पनि भाडामा र निःशुल्क उपभोगका लागि अस्पतालको जग्गा टुक्राटुक्रा परेर अन्य निकायलाई दिँदा अस्पतालको आफ्नो प्रयोगका लागि जग्गा अभाव भएको हो। ‘निजी र सरकारी क्षेत्रलाई जग्गा उपभोग गर्दा दिँदा अस्पताल थोरै जग्गामा संकुचित हुन पुगेको छ,’ उनी भन्छन्, ‘अस्पताल विस्तारमा निकै ठूलो महत्व राख्ने र सडकसँग जोडिएको जग्गाको प्रमुख भाग अवैज्ञानिक र अनुचित रूपमा दिइएको छ।’ यसले आवश्यक पूर्वाधार तयार गर्न जग्गा अभाव भएको मेडिकल सुपरीटेन्डेन्ट पौडेलले बताए।

राप्ती दुन उपत्यका विकास समिति र अमेरिकी सरकारको संयुक्त प्रयासमा २०१३ सालमा भरतपुर अस्पतालको स्थापना भएको हो। २०२० सालमा महेन्द्र आदर्श चिकित्सालयका रूपमा अस्पतालले सेवा दिन थालेको थियो। छाप्रोबाट स्वास्थ्य जाँचको सेवा दिन थालेको अस्पताल अहिले भव्य र सुविधा सम्पन्न भवनमा सञ्चालित छ। १५ शड्ढयाबाट सुरु गरिएको अस्पतालमा ६ सय शड्ढया उपलब्ध छन्। सरकार र अस्पताल विकास समितिबाट तीन÷तीन सय शड्ढया सञ्चालन गरिएको हो।

गएको फागुनमा अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नति गरिएको छ। अस्पतालमा आवश्यक इमर्जेन्सी ब्लक, पेइङ भवन बनाउने योजना अस्पतालको छ। अस्पताललाई प्रतिष्ठान बनाएर हजार शड्ढयासम्मको बनाउने योजना भएका जग्गा अस्पतालकै प्रयोगमा हुन नसक्दा रोकिएको मेडिकल सुपरिटेन्डेन्ट पौडेलले बताए। अस्पतालका मेडिकल रेकर्डर नारायणप्रसाद रिजालका अनुसार अस्पतालबाट मासिक २५ हजार बिरामीले ओपिडी सेवा लिने गरेका छन्। भर्ना भएर उपचार गर्ने मासिक चार हजार पाँच सय र आकस्मिक कक्षबाट सेवा लिने करिब चार हजार बिरामी रहेको उनले बताए।

प्रकाशित: १६ वैशाख २०७६ ०३:०७ सोमबार

भरतपुर_अस्पताल पूर्वाधार समस्या