समाज

छुवाछूतविरुद्ध जागरण

मुलुकभर करिब १३–१४ हजार हाराहारी जनसंख्या रहेको डोम समुदाय मुलुककै अल्पसंख्यक मात्रै हैन, कथित सबैभन्दा तल्लो जाति हो। आर्थिक र समाजिक रूपले निक्कै पिछडिएको यस समुदायमा एसएलसी पास गर्ने मुस्किलले ५० जना छन्। पछिल्लो समय दलित शिक्षा अभियान सञ्चालन भए पनि यस समुदायका २५/३० जनाले प्लस टु पास गरेका छन्। मुस्किलले ४–५ जनाले स्नातक गरेका छन्। तीमध्ये एक हुन्– सप्तरीको छिन्नमस्ता गाउँपालिका–२, का युक्ति मरिक।

छिन्नमस्ता गाउँपालिका मात्र नभई सिंगो सप्तरीकै चिनारीका रुपमा प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ स्थापना गरिएको छ। यद्यपि, दलित आन्दोलन र अभियानसँग जोडिएकाहरू छिन्नमस्तालाई युक्ति मरिकको गाउँका रूपमा पनि चिन्ने गर्छन्। धार्मिक, पर्यटकीय क्षेत्रमा छिन्नमस्ता मन्दिरको प्रसिद्धि रहेझैं दलित जागरण अभियानको क्षेत्रमा युक्तिको ख्याति उत्तिकै छ।

डोम समुदायबाट एसएलसी उत्तीर्ण गर्ने उनी पहिलो व्यक्ति हुन। प्रविणता प्रमाण पत्र तह र स्नातक गर्ने पनि डोम समुदायकै पहिलो व्यक्ति हुन् उनी। हाल राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा एलएलबी अन्तिम वर्षमा अध्ययनरत युक्ति आफ्नो समुदायबाट पहिलो वकिल बन्ने लक्ष्यसहित अघि बढिरहेका छन्। कृषि–प्रविधितर्फ जेटिएको पढाइसमेत उनले पूरा गरेका छन्।

सुँगुर पाल्ने, परम्परागत बाँसको काम गर्ने, झुठो फाल्नेलगायत निकृष्ट काम गर्न अझै पनि डोम समुदायलाई बाध्य पारिएको छ। यस्तै, सामान्य डोम परिवारमा जन्मिएका युक्तिका लागि पढाइ र सामाजिक अभियान सहज थिएन। उनी भन्छन्, ‘न पढाइ रहरले थालेको थिएँ, न सामाजिक अभियानमा रहरले जुटेको हुँ, विभेदले जन्माएको पीडाले गर्दा पढाइतिर होमिएँ, त्यस्तै बाध्यताले समाजिक अभियानमा आएँ।’ एउटा डोमको छोरा भएर पनि आफ्नो व्यक्तिगत जीवनप्रति सन्तुष्ट छन् उनी। उनी भन्छन्, ‘आफ्नो व्यक्तिगत जीवनमा सन्तुष्टि गर्ने ठाउँ भए पनि बहुसंख्यक डोम समुदायको अवस्था हेर्दा अझै निकै पीडाबोध हुन्छ।’

गाउँ किनबेचबारे लेखिएको तमसुक लिएर एक दिन युक्तिका बुवा प्रथम मरिक टोलका हुनेखाने पलट मण्डलको घर गएका थिए। पलटका छोराहरू लेखपढ गर्न सक्ने भएकाले ती कागज पढेर सुनाइदिने आशयसहित प्रथम त्यहाँ गएका थिए। तर, पलटले उनलाई हप्काउँदै घरबाट धपाए। ‘तिम्रा पनि तीन/तीन जना छोराहरू छन्, उनीहरूलाई पढाऊ, म यहाँ तिम्रो कागज पढन बसेको हुँ र?,’ हप्काउँदै पलटले भनेका यी वाक्य प्रथम मरिकको मनमस्तिष्कमा नमज्जाले गाडियो। उनी तत्कालै घर फर्किए, तीनैजना छोराहरुलाई बोलाएर तिमीहरुले पढनुपर्छ भनी सिलेट र पेन्सिल किनेर ल्याइदिए।

आफूले १२ वर्षको उमेरमा कखरा सिक्न थालेको युक्ति बताउँछन्। बुवाले युक्तिको हातमा सिलेट र पेन्सिल थमाइदिए र, भने, ‘पढेर देखाऊ’। ‘त्यतिबेला मेरो बुवालाई हप्काएर भगाएको नभए आज यसरी मेरो परिचय फेरिने थिएन,’ उनले भनेँ, ‘गीतामा भगवान कृष्णले भनेका छन्– जे हुन्छ राम्रोकै लागि हुन्छ, बुवासँग त्यतिबेला ती व्यक्तिले गरेको नराम्रो व्यवहारले मेरा लागि सुखद परिवर्तन ल्यायो।’

त्यतिवबला घरमा पैसा हुँदैन थियो, गाउँमा विद्यालय पनि थिएन। तैपनि प्रथमले मजदुरी गरेर जसोतसो तीनैजना दाजुभाइलाई गाउँका शिक्षक गोसाई मण्डलकहाँ ट्युसन पढ्न पठाए। प्रथमका तीनमध्ये दुईजना छोराहरुले बीचमै पढाइ छाडे तर, युक्तिको पढाइ–यात्रा भने अझै जारी छ।

ट्युसनदेखि स्कुलसम्म छुवाछूत
पढाइ–यात्रा सुरु भयो। शिक्षकहरू पनि पढाउन तयार भए तर, ट्युसनदेखि स्कुलसम्म हुने अछूत व्यवहारले युक्तिको मुटुलाई कलिलै उमेरदेखि घोचिरहन्थ्यो। ‘ट्युसन पढ्दा आफूले लेखेको कुरा देखाउनलाई भुइँमै राख्नुपथ्र्यो’, त्यतिबेलाको स्मरण सुनाउँदै युक्तिले भने, ‘सिलेट हेरिसकेपछि सरले भुइँमै राखिदिनु हुन्थ्यो, उहाँ मेरो हातबाट सिलेट लिनुहुन्नथ्यो किनभने म अछुत डोमको छोरा थिएँ।’

आफूजस्ता अछुत जातका बच्चालाई पढाउन गोसाईं सरका लागि पनि सहज नरहेको उनी सुनाउँछन्। ‘त्यतिबेला कुनै बच्चाले गल्ती गरे, गृहकार्य गरेर ल्याएनन् भने छडीले पिटेर सजाय दिने चलन थियो, तर मलाई छडीले पिट्दा उहाँ छोइन्छ कि भनी मलाई झटारो हानेर दण्डित गर्ने उपाय उहाँले निकाल्नु भएको थियो,’ युक्ति भन्छन्, ‘जेजस्तो भए पनि उहाँ मलाई पढाउनु हुन्थ्यो, पढाउने काममा उहाँ निकै इमान्दार हुनुहुन्थ्यो, उहाँकै मिहनेतकै कारण मैले पढ्न सिकेँ।’ झन्डै दुई वर्षसम्म गोसार्इं मण्डलकहाँ ट्युसन पढ्दा उनले वर्ण, शब्द, वाक्य, अंक, जोड, घटाउन, गुणा, भाग इत्यादि सिकेका थिए। गोसाई मण्डलकै पहलमा छिमेकको कन्कट्टा गाउँस्थित निमावि स्कुल एकैचोटी उनी चार कक्षामा भर्ना भएका थिए।

अछुतको व्यवहार विद्यालयमा पनि रोकिएन, त्यहाँ पनि शिक्षकदेखि विद्यार्थीसम्मले उस्तै व्यवहार गरे। छुवाछूतजस्ता प्रथाले त्यतिबेला निक्कै जरो गाडेको थियो। आफूलाई अछुत व्यवहार गरिए पनि पठनपाठनका क्रममा शिक्षकहरूले निक्कै सघाएको उनको सम्झना छ। २०३९ सालमा सप्तरीको बोदेबर्साईन परीक्षा केन्द्रवाट प्रवेशिका परीक्षामा सहभागी भएका युक्तिलाई त्यतिबेला बस्न घर त परै जाओस् डोम भएका कारण कसैले गोठमा पनि बस्ने अनुमति दिएन। परीक्षा केन्द्रदेखि झन्डै तीन किलोमिटर टाढा एक डोमकै घरम बसेर उनी परीक्षामा सहभागी भए।

प्रवेशिका परीक्षा उत्तीर्ण गरेर उनी आइकम पढ्न छिमेकी भारतको विहार राज्यको निर्मलीस्थित डिग्री कलेजमा भर्ना भए तर, बीचमैे पढाइ छाडेर उनी जेटिए गर्न कपिलवस्तुको पकलीहवा क्याम्पस गए। २०४४ सालमा जेटिए उत्तीर्ण गरेर उनी जागिर खोजीमा सक्रिय भए। तर, तत्काल जागिर भने भेटिएन।

२०५२/५३ सालतिर गजेन्द्रनारायण सिंह आपूर्ति मन्त्री भएपछि जनकपुर आयल निगमको डिपोमा उनले खरिदार सरहको काम पाए। पछि सरकार परिवर्तन हुँदा त्यो जागिर चट भयो। त्यसपछि आफूले सरकारी जागिर खाने इच्छा त्यागेको युक्ति बताउँछन्। उनी भन्छन्, ‘त्यसयता कहिले पनि सरकारी जागिरको प्रयास गरिनँ, सरकारी जागिर मेरो कर्ममै लेखिएको रहेनछ जस्तो लाग्यो।’

विभेदविरुद्ध संघर्ष    
जनकपुर बसाइँकै क्रममा उनले विभिन्न पत्रपत्रिका पढ्न थाले। विस्तारै दलित जागरण अभियानतर्फ उनकोे आकर्षण बढ्न थाल्यो। २०५८ मा युक्तिले गाउँमै रहेको छिन्नमस्ता मन्दिरमा डोमहरुको सहज प्रवेशका लागि अभियान थाले। यो उनको पहिलो अभियान थियो।  ‘त्यति बेलासम्म छिन्नमस्ता मन्दिरमा डोमहरुले प्रवेश गर्न पाउँदैनथिएँ। मन्दिरका मूल पुजारी महाकान्त ठाकुरलाई मन्दिरमा छुवाछूत गर्नु कानुन विपरीत रहेको भनी कानुन दफा देखाए तर उहाँले मान्नु भएन,’ युक्तिले भने, ‘त्यसपछि महिनौंसम्म संघर्ष गर्नुप-यो अन्ततः छिन्नमस्ता मन्दिरमा डोमहरुको सहज प्रवेश पाउने वातावरण निर्माण भयो।’ पहिलो काममै सफलता पाएपछि युक्तिको उत्साह निकै बढ्यो। दलित अभियन्ता र अगुवाहरुबीच युक्ति चर्चित बन्न पुगे। हिजोसम्म गुमनाम  युक्तिले एउटा फरक परिचय पाए।

लगत्तै युक्तिले सदरमुकाम राजविराजमा जिल्लाभरका डोमहरुको सम्मेलन डाके। त्यतिबेलासम्म डोम जातिगत रूपमा संगठित भइसकेका थिएनन्। अन्य जातिको जातीय संगठन भए पनि उनीहरुको थिएन। युक्तिको आह्वानमा झन्डै २/३ सय डोम राजविराजमा भेला भए। डोम उत्थान समाज नामक संगठन निर्माण गर्ने निर्णय भयो र, युक्तिकै नेतृत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरियो। भेला सकिएपछि राजविराजस्थित विभिन्न पसलमा चियानास्ता खान गएका डोमहरुसँग पसलेले दुर्व्यवहार गरे। देवीलाल साह र महेन्द्र साह नामक दुई पसलेहरुले दाउरा लिएरै डोमहरुलाई पसलबाट लखेटे। त्यसपछि सुरु भयो– छुवाछूतविरुद्धको कानुनी लडाइँ।

‘हाम्रा साथीहरूलाई पैसा तिरेर पनि चिया–नास्ता दिएनन् नै, उल्टै लखेट्ने काम भयो। यद्यपि, हामी तत्कालै प्रतिवादमा गएनाैं, बरु कानुनी उपचार खोज्न थाल्यौ,’ युक्तिले भने, ‘प्रहरीमा गयौं, प्रहरीले केही गरेन, प्रशासनमा गयौं, प्रजिअले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरे पनि केही भएन। अन्ततः छुवाछूतविरुद्ध कानुनअन्तर्गत सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता ग-यौं, जुन पहिलो मुद्दा थियो।’ उक्त मुद्दा झन्डै तीन वर्षसम्म चल्यो। अन्ततः पहिलो पटकका लागि आरोपीहरूलाई अदालतले नसिहतसहित ५१–५१ रुपैयाँ जरिवाना तोक्दै मुद्दाको टुंगो लगायो। यस मुद्दाले युक्तिको ख्याती मात्र बढाएन, छुवाछूत र जातीय भेदभावजस्ता विषयले गाउँ–गाउँमा व्यापक चर्चा पायो।

सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिरमा डोमहरुको प्रवेश, सुनसरीको इनरुवास्थित सत्यनारायण मन्दिरमा डोमहरुको प्रवेश, इनरुवाकै चियापसलमा ग्लास फोड्ने आन्दोलनजस्ता गतिविधिले जातीय विभेदविरुद्ध समाजको ध्यानाकर्षण भयो। यसले छुवाछूत र जातीय विभेदका घटना न्युन बनाउन भूमिका खेलेको विश्लेषकहरूको बुझाइ छ।

सामाजिक परिवर्तनका लागि सचेतना
छुवाछूतविरुद्ध  कानुन लडाइँदेखि सामाजिक अभियान सञ्चालन गरिरहँदा डोमहरुभित्र रहेको कुरीतिको अन्त्य एवम् दलितबीच रहेको जातीय विभेद न्यूनीकरण गर्न युक्तिले थुप्रै काम गरे। वाल विवाह डोम समुदायभित्र रहेको सबैभन्दा ठूलो सामाजिक कुरीति हो। अझै पनि डोम समुदायमा बालविवाह पूर्ण रूपमा अन्त्य भइसकेको छैन तर, पछिल्लो समय यसमा निक्कै कमी आएको छ।

डोमहरूले भोजभतेरको झुठो ल्याएर खाने, मसानघाटबाट  पुराना लत्ताकपडा ल्याउने, सुँगुर पाल्दा सरसफाइमा ध्यान नदिने, अत्यधिक मदिरा सेवन गर्ने, असमान ज्यालामा काम गर्नेलगायत समस्या थिए। युक्तिले सचेतना प्रवाह गर्न  डोमहरूको घरघर पुगेर ‘डोर टु डोर’ क्यापेनिङ गरेका थिए।

प्रकाशित: ११ वैशाख २०७६ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App