समाज

कर्मचारी अभावमा भन्सार कार्यालय रित्तै

रौतहट– कर्मचारी नहुँदा रौतहटका छोटी भन्सार कार्यालयहरु रित्तै देखिएका छन्। कार्यालय हुने तर कर्मचारी एकजना पनि नहुँदा सुरक्षाकर्मीले नै कार्यालय खोल्ने गरेको देखिएको छ।

रौतहटको बौद्धिमाई नगरपालिका अन्तर्गत बंकुल नाकामा रहेको छोटी भन्सार कार्यालयमा एकजना पनि कर्मचारी नरहेको देखिएको छ। कार्यालय छ, कार्यालय खुल्छ पनि तर कार्यालय सहयोगी समेत नभएको कार्यालयलाई दिनहुँ स्थानीय प्रहरीले खोलेर औपचारिकता पूरा गर्ने गरेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोली छोटी भन्सार कार्यालयहरुको अवस्था स्थलगत निरीक्षण गर्दै जाने क्रममा बंकुलमा पुग्दा भन्सार कार्यालयको बोर्डसमेत कार्यालयभित्र राखिएको अवस्थामा पाइएको छ। भन्सार कार्यालय खोल्ने ड्युटीमा रहेका एकजना सुरक्षाकर्मीले हरेक दिन कार्यालय खुल्ने तर कर्मचारीको अभावमा कुनै पनि काम नहुने गरेको बताएका छन्।

बंकुलमा मात्र होइन, नेपाल–भारत सीमा जोडिएको र छोटी भन्सार कार्यालय रहेको औरैया, लक्ष्मीपुर बेलबिछवासमेतको स्थलगत निरीक्षण गर्दा पनि अवस्था उस्तै रहेको छ। प्रजिअसँग नेपाल प्रहरीका रौतहट प्रमुख एसपि भूपेन्द्र खत्री, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी प्रमुख एसपी कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धान विभाग रौतहट प्रमुख एसपि अभिनय सिंहसहितको टोलीले ३२ किलोमिटर खुला सिमानाको अनुगमन गर्दै जाँदा भन्सार कार्यालयहरु कमचारीविहीन देखिएका हुन्।

छोटी भन्सार कार्यालयहरुले बढीमा पाँच हजार रुपैयासम्मको भन्सार काट्ने गरेका छन्। दुवैतिरका स्थानीयबासीले आफ्नो घरायसी प्रयोजनका सामान ल्याउन भन्सार संचालनमा रहँदा सजिलो हुँदै आएको थियो तर कर्मचारीहरु विभिन्न कारणले सरुवा भएर अन्यत्र गएपछि सर्वसाधारणलाई निकै समस्या भएको छ।

सानो तिनो सामान किनेर ल्याउन पनि सर्वसाधारणलाई गौर भन्सार कार्यालय पुग्नुपर्ने छ। गौर भन्सार कार्यालयमा पनि दरबन्दी अनुसारको कर्मचारी नहुँदा निकै समस्या भइरहेको भन्सार अधिकृत आशुतोष राईको भनाइ छ। कार्यालयमा ७ जना नासुको दरबन्दी भएर पनि तीनजना मात्र कार्यालयमा रहेकाले काम गर्न निकै समस्या भएको अधिकृत राईको भनाइ छ। 

कर्मचारीको अभावमा भन्सार कार्यालयमा बर्सौँदेखि थन्किएर रहेका सयौँ सबारी साधनलाई लिलाम प्रक्रियामा लैजान नसकेको राई बताउँछन्। मन्त्रालयले भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पठाउनुको साटो काजमा तानेकोले समस्या भएको उनी बताउँछन्।

भन्सार कार्यालयका नासुहरुमध्ये एकजना अर्थमन्त्रीको सचिवालयमा हरिहर काफ्ले र अर्का एकजना दशरथ फुँयाल काठमान्डौँ विमानस्थलमा रहेका छन् भने दुई वटा पद नै रिक्त रहेका छन्। कर्मचारीको अभावमा छोटी भन्सार कार्यालयहरु संचालन हुन नसकेको बताउँदै अधिकृत राईले आफूले सम्बन्धित निकायमा पहल गरिरहेको बताएका छन्।

भन्सार कार्यालयमा कर्मचारी नहुँदा सर्वसाधारणलाई समस्या भएको स्वीकार्दै प्रजिअ थापाले भन्सारको समस्या सम्बन्धित निकायमा लेखेरै पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यालय खुल्ने तर कार्यालय सहयोगी समेत कार्यालयमा नबस्ने प्रवृत्तिप्रति प्रजिअ थापाले आफूले कानुनी कारबाही गर्ने पनि स्पष्ट पारेका छन्। 

प्रजिअ थापाले भन्सार कार्यालयमा कर्मचारीको अभावमा नियमित जाँचपास गर्न पनि समस्या भएको देखिएको स्पष्ट पारेका छन्।

प्रकाशित: ८ वैशाख २०७६ १५:२१ आइतबार

भन्सार_कार्यालय कर्मचारी_अभाव रौतहट सुरक्षाकर्मी