समाज

कार्यालय रित्याएर जनप्रतिनिधि भ्रमणमा, सेवाग्राही खाली हात फर्किए

सुनसान रहेको सानीभेरी गाउँपालिकाको कार्यालय । तस्बिर: लोकेन्द्र/नागरिक

रुकुम (पश्चिम)– रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ्ग आफ्ना नाती र नातीनी बोकेर अपाङ्गता परिचयपत्र बनाउन मंगलबार गाउँपालिकाको कार्यालयमा पुगिन्। हरेक महिनाको ३ गते वितरण हुँदै आएको अपाङ्गता परिचयपत्र मंगलबार भने वितरण भएन। निकै भीडभाड हुने गाउँपालिकाको कार्यालयमा उनी आउँदा बन्द जस्तै थियो। कार्यालयमा कोही नभएको कार्यालय सहयोगीले बताएपछि उनी बाहिरैबाट रित्तो हात घर फर्किइन्। उनका नाति दिवस र नातिनी मनकला शारिरिक अपाङ्ग छन्। 

यहाँका कर्मचारीहरु भ्रमणमा गएका कारण आफु रित्तो फर्किएको लीलाले बताइन्। उनी जस्तै गाउँपालिका–४ का गोकर्ण चन्दका दुवै पैतला छैनन्। बैशाखीको साहरामा अपाङ्ग परिचयपत्र लिन गाउँपालिकाको कार्यालयमा आएका चन्द पनि रित्तो हात घर फर्किए।

यी पात्र त केही उदाहरण मात्र हुन्। गत चैत ३० गतेदेखि गाउँपालिकामा आउने सबै सेवाग्राही यसरी नै रित्तो हात फर्कने गरेका छन्। गाउँपालिकाको कार्यालय रित्तो बनाएर यहाँका कार्यालय सहयोगीदेखि गाउँपालिका अध्यक्षसम्म भ्रमणमा जिल्ला बाहिर गएपछि सेवाग्राही खाली फर्कनु परेको हो।

गाउँपालिका अध्यक्ष नरबहादुर पुन नेतृत्वमा यहाँका जनप्रतिनिधि र कर्मचारीहरु दार्जिलिङलगायतका विभिन्न ठाउँमा भ्रमण गर्न गएका छन्। कार्यालय नै खाली गरेर भ्रमण गर्न गएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ। गाउँपालिकामा निकै कामको चाप हुने समयमा कार्यालय रित्तो बनाएर भ्रमणमा गएपछि सेवाग्राहीहरु आक्रोसित भएका छन्। गाउँमा सञ्चालन भइरहेका विभिन्न योजनाको रकम भुक्तानी दिनुपर्ने समयमा कर्मचारीहरुलाई बोकेर गाउँपालिका अध्यक्ष नै भ्रमणमा गएको स्थानीय नवीन ओलीले बताए।  प्रत्येक दिन सेवाग्राही गाउँपालिकामा आए पनि कर्मचारी कोही नभएको उनले बताए।

अध्यक्ष पुनका साथै उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्ल, इन्जिनियर मोहनकुमार ओली, नायब सुव्बा खिमप्रकाश शाह र मिनाराम केसी, सूचना प्रविधि अधिकृत नवीन चौधरी, सहायक लेखापाल कविन्द्र पुन, वडा नं. ७ का वडाध्यक्ष कुलबहादुर बुढाथोकीलगायतका १८ जना कर्मचारी तथा जनप्रतिनिधिहरु कार्यालय खाली गराएर भ्रमणमा गएका हुन्। भ्रमणमा गएकाहरु मध्ये ४ जना जनप्रतिनिधि रहेका छन् भने १४ जना कर्मचारी छन्।

गाउँपालिकामा कर्मचारी तथा जनप्रतिनिधि नभएको भन्दै जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा व्यापक गुनासो आएपछि मंगलबार अनुगमन गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा नेतृत्वमा गरिएको अनुगमनका क्रममा कार्यालय खाली भेटिएको थियो।

आफुहरु कार्यालयमा पुग्दा सवओभरसियर रुद्र गोपाल डाँगी, पोषण सहजकर्ता सरस्वती विक र कार्यालय सहयोगी शेरबहादुर कामी मात्र भेटिएको शर्माले बताए। सेवाग्राहीको काम छोडेरै भ्रमणा जानुको कारण भने थाह नभएकाे उनको भनाइ छ। ‘यसरी कार्यालय खाली गरेर भ्रमणमा किन जानुभएको हो अहिले कुनै जानकारी भएको छैन्, हामी कार्यालय आउँदा बन्द जस्तै थियो,’ जिल्ला समन्वय समितिका प्रमुख शर्माले भने। ‘यो विषय गम्भीर भएकाले अहिले नै केहि भन्न सकिदैन, के गर्ने भन्ने विषयमा हामी गम्भीर रुपमा छलफल गर्छाैं र आवश्यक कारबाही हुन्छ।’

गाउँपालिका अध्यक्ष पुनले कार्यवाहक अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत मल्लले निमित्त कसैलाई पनि दिएका छैनन्। आफ्नो इच्छा पुरा गर्नको लागि भ्रमणमा गएकाले कानुन अनुसार कारबाही हुनुपर्ने स्थानीयवासीको माग छ। रकम भुक्तानी, योजनाको अनुगमन, विद्यार्थी भर्नालगायतका महत्वपूर्ण कार्यक्रम छोडेर भ्रमण गएर राज्यको सम्पत्तिको दुरुपयोग गरेको अर्का स्थानीयवासी धर्मबहादुर खड्काले बताए।

गाउँपालिकाको बजेटबाट दुई वटा गाडी रिजर्भ गरेर जनप्रतिनिधि, कर्मचारी र उनीहरुको आफन्त भ्रमणमा गएका हुन्। उनीहरुले आफ्ना पती, पत्नी तथा छोरा/छोरीलाई समेत सरकारी सम्पत्तिमा भ्रमण लगेका छन्। भ्रमणको विषयमा आफुलाई कुनै पनि जानकारी नभएको सवओभरसियर डाँगीले बताए। ‘म फिल्ड गएको थिए, मलाई यस विषयमा कुनै जानकारी छैन्,’ उनले भने, ‘कहाँ, कति दिन किन भ्रमणमा जानुभएको हो मलाई थाहा छैन्।’

गाउँपालिका प्रवक्ता शेरबहादुर खड्काले पनि भ्रमणको बारेमा आफुलाई कुनै जानकारी नभएको बताए। आफुहरुसँग कर्मचारीले भ्रमणमा जाने बारेमा छलफल गरेको भए पनि अहिले कामको चाप भएकाले जान नहुने कुरा भएको उनले बताए। विषयमा आफु अनविज्ञ रहेको उनको भनाइ छ।

अनुगमनको क्रममा गाउँपालिकाको कार्यालयमा पुगेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले कर्मचारीको हाजिरी रजिष्ट्रार नियन्त्रणमा लिएका छन्। कर्मचारीहरुले चैत महिनाको हाजिरी नगरेको र २०७६ सालको हाजिर रजिष्ट्रार तयार नभएको देखिएकाले नियन्त्रणमा लिइएको उनले बताए।

जनताको सेवा गर्न खटिएका कर्मचारीहरु नै कार्यालय खाली गरेर भ्रमणमा जानु राम्रो नभएकाले यस विषयमा स्पष्टिकरण सोधेर त्यसपछि थप कारबाही गरिने प्रजिअ रेग्मीले बताए। कर्मचारी तथा जनप्रतिनिधि भ्रमणमा गएपछि गत चैत मसान्तभित्र हुनुपर्ने कक्षा ८ को नतिजासमेत सार्वजनिक हुन सकेको छैन्। नतिजा सार्वजनिक नहुँदा भर्ना अभियानसमेत प्रभावित भएको शिक्षकहरुको भनाइ छ।

प्रकाशित: ५ वैशाख २०७६ १०:४८ बिहीबार

गाउँपालिका अनियमितता भ्रमण