समाज

गौमुलमा उन्नत जातको स्याउ खेती

बाजुरा– गौमुल गाउँपालिकाले उन्नत जातको स्याउ खेती सुरु गरेको छ। गाउँ कार्यपालिकाको निर्णय अनुसार नै हावापानी अनुकुल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न सुरु गरिएको कृषि शाखा प्रमुख रमेश विकले बताएका छन्।

कृषि विकास शाखाले परीक्षणका लागि पहिलो पटक उक्त खेती सुरु गरेको छ। फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको शुरुवात गर्न थालिएको हो। गौमुलमा स्थानीय जातका स्याउ खेती उत्पादन नभए पनि उन्नत जातको विरुवा ल्याएर परीक्षण खेती सुरु गरेको विकको भनाई छ।

चिसो हिमाली भेगमा उत्पादन गर्न सकिने स्याउको प्रजातिबारे प्राविधिक सल्लाह अनुसार नै उन्नत जातको स्याउ खेती सुरु गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए। गौमुल गाउँपालिको कृषि विकास शाखाले एग्रो मनाङ्ग प्रालिलाई समन्वय गरेर स्याउ खेती सुरु गरेको हो।

परीक्षण स्वरुप गौमुल गाउँपालिका– १ अन्द्रारीमा सुदूरपश्चिम प्रदेशमै पहिलो पटक खेती सुरु गरिएको गाउँपालिकाले बताएको छ। इटली र साइव्रेरियाबाट मनाङ जिल्लाको एग्रो मनाङ्ग प्रालिले नेपालमा भित्र्याएको र बाजुराको कृषि विकास शाखाले पनि एग्रोमनाङ्गलाई समन्वय गर्दै ल्याएको कृषि शाखा गौमुलका प्रमुख रमेश विकले बताए।

स्याउ समुन्द्री सतह देखि १८ सय मिटर भन्दा माथी फल्ने भएकोले परीक्षणका लागि पहिलो पटक ५ सय बोट रोपिएका छन्। ‘उत्पादन हुने नहुने यकिन छैन्, तर पनि अरु ठाउँको अभ्यास हेर्दा र हावापानी हेर्दा उत्पादन हुनेमा ढुक्क छौं’, विकले भने।

फुँजी गाला र गोल्डेन जातको स्याउलाई चैतको पहिलो साता देखि दोस्रो साता सम्म रोपी सक्नु पर्ने र थोपा सिँचाइको प्रयोगबाट पानी लगाउन मिल्ने प्राविधिकहरुको सल्लाह छ। स्याउलाई प्रत्येक दिन प्रत्येक बोटलाई कम्तिमा पनि ३ लिटर पानीको अनिवार्य आवश्यक पर्ने हुन्छ।

इटाली र साइव्रेरियामा उत्पादन गर्दै आएको यो नयाँ प्रविधिकोे स्याउ लगाएको पहिलो वर्षमा कम्तीमा पनि ३ केजी फल्ने र त्यसपछि क्रमस ५, ६ हुँदै प्रतिबोट ४५ केजीसम्म उत्पादन हुने कृषि विज्ञहरुको भनाई छ।

स्याउको परीक्षणका लागि १ नम्बर वडा अन्द्राडीमा गठन गरिएको विन्द्रा वन कृषि समुहलाई जिम्मा दिएको छ। ५ सयवटै विरुवा अन्द्राडीमै रोपिएका छन्। बाँझो रहेको लेकाली जमिनमा खेती गरिएको हो।

एग्रोमनाङ् प्रालिबाट एक बोटको १ हजार १ सय ५० रुपैयाँमा खरिद गरिएको हो। किसानलाई भने नि:शुल्क प्रदान गरिएको १ नम्बर वडाका अध्यक्ष बलबहादुर रोकायाले बताएका छन्।

स्थानीय जातको स्याउ साउनबाट फल्न सुरु गरेर असोज, कार्तिक सम्म मात्र रहने हुन्छ भने फुँजी गाला र गोल्डन जातको स्याउ साउनबाट फल्न सुरु गरेर मंसिर, पुस महिनाको अन्तिमसम्म रहने बताइएको छ। साथै सानो बोटमै फल्न सुरु हुने हुँदा आर्थिक उपार्जनमा पनि कृषिहरुका लागि ठूलो सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

प्रकाशित: ४ वैशाख २०७६ ०९:२१ बुधबार

स्याउ_खेती उन्नत_प्रविधि गौमुल_गाउँपालिका