समाज

निकुञ्जमा वन्यजन्तुलाई पानी अभाव

बाँके–पानीको स्रोत सुकेकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या भएको छ। बाघ बस्ने क्षेत्र विस्तार गर्न नौ वर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ नाघिसकेको छ। निकुञ्जमा जङ्गली हात्ती पनि आउने गर्छन्। उनीहरुलाई पानी पिउनका लागि खोला, ताल, पोखरी र सीमसार भने छैनन्।

पानी नहुँदा निकुञ्जबाट जनावर बाहिर निस्कने भएकाले मानवीय क्षतिसँगै जनावर मारिने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मी बताउँछन्। निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका जनावर छन्। पौडी नखेल्ने जनावरलाई पनि पिउने पानी पर्याप्त चाहिन्छ। तर, ५५० वर्गकिलोमिटरको निकुञ्जमा २६ कृत्रिम पानीका पोखरी निर्माण भएका छन्। जहाँ हिउँदमा पानी हुँदैन। निकुञ्जका अनुसार, १० वर्गकिलोमिटर क्षेत्रमा एउटा पानीको स्रोत आवश्यक पर्ने हुँदा निकुञ्जमा कम्तीमा ५५ पोखरी चाहिन्छ।

जसमा बाह्रै महिना पानी हुनुपर्छ। निकुञ्ज भएर बग्ने सिक्टा सिँचाइको नहर वन्यजन्तुले पानी पिउन सक्ने प्रकारको छैन। जसका कारण पानी पिउन नहर पसेका चित्तल डुबेर मर्ने गरेको निकुञ्जले जनाएको छ। प्रमुख संरक्षण अधिकृत रेग्मी जनावरले पानी पिउन सक्ने संरचना नहरमा बनाउन निकुञ्जले सिँचाइ आयोजनासँग मिलेर अध्ययन गरिरहेको बताउछन्। पानी खोज्न गाउँ पुगेका कैयौँ चित्तल मानिसको आक्रमणले घाइते भएको पनि उनको भनाइ छ।

राप्ती नदीको केही भाग निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ भने निकुञ्जको सीमामा बबई नदी छ। बबईमा निर्माण भइरहेको भेरी डाइभर्सनबाट निकुञ्जमा पानी ल्याउने सम्भावना छ। निकुञ्जभित्र खहरे खोलाहरू मात्र रहेकाले पानीको अरू स्रोत देखिँदैन। निकुञ्जका अनुसार करीब ६० प्रतिशत भूभाग भावर र चुरे क्षेत्रमा पर्दछ। वर्षायाममा बाहेक अन्य सिजनमा पनि पानीको अभाव हुने गरेको निकुञ्जले जनाएको छ। निकुञ्जका अनुसार भावर क्षेत्रमा पानी सोस्ने र चुरे क्षेत्रमा मुहान भेटिए पनि जनावरको उपस्थिति नहुने भएकाले समस्या छ। अधिकांश वन्यजन्तुको बासस्थान भावर क्षेत्रमा रहेको निकुञ्जले जनाएको छ। रासस

प्रकाशित: ४ वैशाख २०७६ ०५:५३ बुधबार

बाँके_राष्ट्रिय_निकुञ्ज पानीको_स्रोत कृत्रिम_पानी_पोखरी