समाज

आज ३३ देवतालाई सगुन चढाइँदै

फाइल फोटो

भक्तपुर–भक्तपुरको बिस्का जात्राको एउटा मुख्य आकर्षण हो– द्य स्वगं बियगू जात्रा। जसको नेपाली अर्थ देवतालाई सगुन चढाउने जात्रा हो। प्रत्येक वर्ष बिस्का जात्राका क्रममा वैशाख ४ गते दिनभर यो जात्रा हुन्छ।

जात्राका क्रममा स्थानीइ महिला हाकुपटासी (स्थानीय परम्परागत कालो फरिया) मा सजिएका हुन्छन्। उनीहरूको लस्कर लामो हुन्छ। यो लस्करको बीच–बीचमा परम्परागत पोसाकमै खर्पन बोकेका युवा रहन्छन्। सडक पेटीभरि सबैतिर जात्रालुकोे घुइँचो हुन्छ। नौ दिन आठ रात लामो बिस्का जात्राको यो विशेष दिन पनि हो। बिस्का जात्राका क्रममा अरु दिन एउटा टोलमा मात्रै जात्रा चल्ने भए पनि यो दिन (वैशाख ४ गते) भने नगरभरि जात्रा चल्छ।

जात्राका क्रममा हिँडने महिलाले देवतालाई सगुन चढाउँछन्। यसैकारण यसलाई सगुन जात्रा भनिएको हो। महिला हातमा देवतालाई चढाउने केही न केही खाद्यसामग्री हुन्छ। देवतास्थल पुगेपछि आफूले बोकेको खाद्यसामग्री सगुनका रुपमा चढाउंछन् उनीहरू। यस क्रममा उनीहरूले नेवारी भोजका एक–एक परिकार चढाउँछन्। रक्सी, अन्डा, माछा, अदुवा, चामल, चिउरा, रोटीमध्ये कुनै एक खाद्यसामग्री उनीहरूले चढाउने परम्परा छ। बदलिँदो समयअनुसार बिस्कुट, चोकोफन चढाउने पनि भेटिन्छन्।

जात्रामा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानमा छुट्टाछुट्टै देवतालाई सगुन चढाइन्छ। नगरका विभिन्न स्थानमा रहेका अष्टमातृकाका आठसहित भैरव, गणेशलगायत ३३ स्थानका देवतालाई सगुन चढाउने परम्परा छ।

सगुन यात्रा सूर्यमढीबाट दतात्रय, गोल्मढी, सुकुलढोका, टौमढी पुग्छ। त्यस्तै गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा, दरबार क्षेत्र हुँदै तलेजु, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै जात्रा पुग्छ। सूर्यमढी पुगेपछि जात्रा अन्त्य भई सबै जात्रालु आआफ्नो घर फर्कन्छन्।

सगुन चढाउने देवतालाई मंगलबार राति देवघरबाट निकालेर नजिकैका चोक–चोकमा रहेका पाटीमा राखिन्छ। ३३ थरी देवतामध्ये भद्रकाली र भैरवनाथलाई भने बिस्का जात्राको पहिलो दिन चैत २७ गते नै देवघरबाट निकाली रथमा राखिएको हुन्छ।

संस्कृतिविद् ओम धौभडेलले घरपरिवारमा महिलाले खाना खान दिने अर्थमा देवतालाई पनि महिलाले नै सगुन दिने चलन रहकोले जात्रामा महिलाको विशेष उपस्थिति हुने बताउँछन्। जात्रामा पुरुष पनि सहभागी हुन्छन्। पुरुष बाजागाजा बजाउन, स्वयंसेवक हुन अनि पानी बोकेर खुवाउन व्यस्त हुन्छन्।

धौभडेलका अनुसार सम्पूर्ण देवताको एकैदिन पूजा गर्ने यो जात्रा विशेष मानिन्छ। अरु बेला फरकफरक दिन फरकफरक देवताको पूजा हुन्छ तर यो दिन सबै देवताको पूजा हुने भएकाले यसको छुट्टै महत्व रहेको उनी सुनाउँछन्।

भक्तपुरमा बिस्का सबै भन्दा लामो जात्रा हो। बिस्का जात्राअन्तर्गत सगुन जात्रा मनाइन्छ। भक्तपुरका हर्कबहदुर मानन्धरले बिस्काको आठौं दिन अर्थात् वैशाख ४ गते ‘द्य स्वगं वियगू’ जात्रामा देवतालाई सगुन चढाउने परम्परा रहेको बताए।

प्रकाशित: ४ वैशाख २०७६ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App