समाज

खोटाङमा बस दुर्घटना : एकको मृत्यु, उद्धार कार्य जारी

खोटाङ– काठमाडौंबाट खोटाङका लागि छुटेको बस हलेसीमा दुर्घटनामा परेको छ।

काठमाडौंबाट यात्रु बोकेर दिक्तेल आउँदै गरेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घटना भएको हो। दुर्घटनामा एकको मृत्यु भएको छ, भने १०/११ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताए।

दुर्घटनास्थलबाट उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा एकको बाटैमा मृत्यु भएको हो। मृतकको परिचय खुल्न सकेको छैन।

प्रहरीका अनुसार दुर्घटनामा २/३ जना यात्रु गम्भीर छन्। बस सडकबाट चिप्लिएर १५/२० मिटर तल कोल्टिएर रूखमा ठोक्किँदै अडिएकाले ठूलो क्षतिबाट जोगिएको बताइएको छ। दुर्घटनामा परेका यात्रुको उद्धारका लागि इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक भुवन खड्का नेतृत्वको प्रहरीको टोली घटनास्थलमा खटिएका छन्। 

दुर्घटनाबाट उद्धार गरिएका घाइतेलाई उपचारका लागि दुर्छिम स्वास्थ्यचौकीमा पुर्याइएको छ। दुर्घटनाको विस्तृत विवरण  आउन बाँकी रहेको डिएसपी केसीले बताए। 

प्रकाशित: २ वैशाख २०७६ १८:३७ सोमबार

दुर्घटना मृत्युु