समाज

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वाड नं २ बिहानी पेट्रोल पम्प नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। चितवनबाट काठमाडाैँतर्फ जाँदै गरेको ना६ख ७४६५ नम्बरको बसले विपरित दिशातर्फ जादै गरेको बा७४प ६७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक गोरखा जिल्ला भीमसेन गाउँपालिका वडा नं १ बस्ने २० वर्षका अनिष बानियाँको मृत्यु भएको छ। टाउकोमा गम्भीर चोट लागी घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र गजुरीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँ लगिएको थियो।  उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाईकल पछाडी बसेका गोरखाको सिरानचोक गाउँपालिका वडा नं ६ बस्ने २५ वर्षका शिव पुडासैनी घाइते भएका छन्। उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

 

प्रकाशित: ३० चैत्र २०७५ १२:०० शनिबार

दुर्घटना मोटरसाइकल घाइते