काठमाडाैँ - सुनसरीमा कारले ट्याक्टरलाई ओभरटेक गर्न खाेज्दा यात्रुवाहक बसमा ठोक्किएर दुर्घटना भएकाे छ। उक्त दुर्घटनामा परी तीन जनाकाे ज्यान गएकाे छ भने ९ जना घाइते भएका छन्।
धरान उपमहानगरपालिका–८ मा गएराति ११:१५ बजे दुर्घटना भएकाे सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयालले बताए। उनका अनुसार अनियन्त्रित बा २० च ४०७६ नं. को कार र को १ ख ४७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएर दुर्घटना भएकाे हाे।
उनले भने,'मृतक तीनै जना कारमा सवार थिए।' उनका अनुसार अनील श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बुको मृत्यु भएको हाे। अनील इटहरी ४ का हुन् भने जनक धनकुटाका हुन्। लिम्बुको भने ठेगाना खुलेको छैन। घाइतेको अहिले नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, घाइतेको अवस्था सुधारोन्मुख छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कारले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको डिएसपी फुयालले बताए
प्रकाशित: ३० चैत्र २०७५ ०३:४८ शनिबार