समाज

क्यान्सरपीडितलाई सहयोग

खोटाङ – जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका क्यान्सर बिरामी तारानाथ अधिकारीलाई शुभेच्छुकबाट उठाइएको सहयोग रकम प्रदान गरिएको छ। हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनलाई संकलित ५७ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको हो।

खोटाङ सेवा समाजको पहलमा संकलित रकम शुक्रबार क्यान्सरपीडित अधिकारीलाई हस्तान्तरण गरिएको समाजका सचिव बाजिन्द्र विष्टले जानकारी दिए। उपचारका क्रममा तत्काल एक लाख रुपैयाँ आवश्यक परेपछि अधिकारीको सहयोगमा अभियान चलाइएको थियो।

हालसम्म आफन्तबाट जुटाइएको दुई लाख ५० हजार रकम खर्च भएको र थप उपचारमा समस्या देखिएपछि २३ जना सहयोगीबाट रकम संकलन गरिएको सचिव विष्टले बताए। अधिकारीलाई सहयोग गर्न तारानाथ अधिकारीको नाममा बैंक अफ काठमाण्डूको ठमेल शाखामा खोलिएको खाता नं. ०५०१०००१०७७४५२५ मा सहयोग जम्मा गर्न सकिने समाजले जानकारी दिएको छ।

प्रकाशित: २४ चैत्र २०७५ ०२:२० आइतबार

जन्तेढुंगा_गाउँपालिका क्यान्सर सहयोग पीडित