समाज

सर्लाहीमा हावाहुरी, एक जनाको मृत्यु

सर्लाही– हावाहुरीले पसलको छानो उडाएर थिच्दा सर्लाहीमा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो आएको हुरीबतासले जिल्लाको दक्षिण–पश्चिम क्षेत्र अन्तर्गत रामनगर गाउँपालिका–१ स्थित एक खाजा पसलको छानोले थिच्दा स्थानीय ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको हो।

राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर थिच्दा त्यही रहेका सहनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सदरमुकाम मलंगवातर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मौसम बद्ली भई जिल्लाको दक्षिणी भेगमा शनिवार अपरान्ह केहीबेर हावाहुरी चलेको थियो। हावाहुरीले फुस्का एवं टाली र खपडाले छाएका घरहरुमा क्षति पुर्याएको स्थानीयवासीले बताएका छन्। शनिवार बिहानै जिल्लाको उत्तरी चुरे क्षेत्रमा पनि हावाहुरी चल्दा दर्जनौं कच्ची घरका छानोमा क्षति पुगेको छ। मौसम बद्लीभई यस क्षेत्रमा शनिवार बिहानभर वर्षा समेत भएको थियो।

प्रकाशित: २३ चैत्र २०७५ १३:१५ शनिबार

हावाहुरी सर्लाही मृत्यु