समाज

पाँच महिनादेखि तलबविहीन स्वास्थ्यकर्मी भन्छन् - 'उधाराेमा बाँचिरहेका छाैं'

खोटाङ – संघीय सरकारले बजेट नपठाउँदा खोटाङका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी लामो समयदेखि तलबविहीन भएका छन्। जिल्लका रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिकालगायत स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी लामो समयदेखि तलबबाट वञ्चित भएका छन्। 

 तलब नपाउँदा उधारोमा बसेर सेवा प्रवाह गर्नु परेको स्वास्थ्यकर्मीको गुनासो छ।  रावाबेँसी गाउँपालिकाका एचए, अहेव र अनमी गरी २९ जना स्थायी कर्मचारी र ६ जना कार्यालय सहयोगीले गत कात्तिकदेखि हालसम्मको तलब सुबिधा पाएका छैनन्। ८ स्वास्थ्यकर्मीले गत आर्थिक वर्षकै पोशाक भत्तासमेत नपाएको स्वास्थ्यचौकी डुम्रेधारापानीका अहेव मणि अधिकारीले बताए।

 ‘हामीले कात्तिकयताको तलब सुविधा पाउन सकेका छैनौँ,’ अहेव अधिकारीले भने, ‘बेलामा तलब नपाउँदा सेवा प्रवाहमै कठिनाइ भइरहेको छ।’ रावाबेँसी गाउँपालिकाकै हौचुर स्वास्थ्यचौकीका अहेव कमल फुयाँलले साउनदेखि यताकै तलब सुविधा पाएका छैनन्। फुयाँल साउनदेखि रावाबेँसी गाउँपालिकाबाट तलब खानेगरी ओखलढुंगाबाट सुरुवा भएर हौंचुर आएका थिए। 

सेवा सुविधास्वरुप मन्त्रालयबाट आएको सीमित बजेट दसैँअघि नै सकिएपछि रावाबेँसी गाउँपालिकाका स्वास्थ्यकर्मी हालसम्म बिनातलब काम गर्न बाध्य भएका हुन्। केन्द्र सरकारले तलब नपठाएपछि ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाले बिहीबार आन्तरिक श्रोतबाट रकमान्तर गरेर २ महिनाको तलब खुवाएको छ।

मंसिरदेखि हालसम्म तलबविहीन भई काम गरिरहेका नगरपालिकाका स्वास्थ्यकर्मीलाई आन्तरिक कोषबाट दुई महिनाको तलब खातामा हालिदिएको स्वास्थ्यचौकी राजापानीका अहेव पुरुषोत्तमनाथ योगीले बताए। लामो समयसम्म केन्द्रबाट तलब नआएको भन्दै नगरपालिकाका स्वास्थ्यकर्मीले गत फागुन २७ गते नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए। 

 

प्रकाशित: २१ चैत्र २०७५ १६:३९ बिहीबार

तलबविहीन_स्वास्थ्यकर्मी उधाराे स्थानीय_तह खोटाङ