समाज

त्रिवि शिक्षण अस्पतालमा नौ जनाको उपचार हुँदै

काठमाडौं - आइतबार रातिको विनाशकारी हुरीबतासबाट घाइते भएकामध्येबाट नौ जनाको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेका दुई बालकसहित घाइतेलाई नेपाली सेनाको स्काई ट्रक (जहाज) बाट सोमबार दिउँसो काठमाडाैँ ल्याइएको हो भने थप दुई जनालाई भने सोमबार साँझ सेनाकै एमआई–१७ नाइट भिजन हेलिकोप्टरबाट ल्याइएको थियो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालका अनुसार बाराका मुनाफ अन्सारी, क्रिचन पटेल, गीतादेवी पटेल, सुरेश पटेल, महम्मद मियाँ, समिमा खातुन र अमन पटेललाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको हो। घाइतेमध्ये गीतादेवीको अवस्था गम्भीर रहे पनि बाँकी ६ जना भने खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ। काठमाडौं ल्याइएका ती घाइतेलाई भेट्न शिक्षामन्त्री गिरिराजमन्त्री पोखरेल, नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलसहितका नेता शिक्षण अस्पताल पुगेका थिए। घाइतेहरूको स्वास्थ्य अवस्थाको जानकारी लिइसकेपछि मन्त्री पोखरेलले स्वास्थ्यमा कुनै कमी हुन नदिन चिकित्सकलाई निर्देशन दिएका थिए।

· दुई सय ७७ को उपचार जिल्लामै उपचाररत
· करिब तीन सय घाइते उपचारपछि घर फिर्ता
· सेना–प्रहरीद्वारा सामूहिक रक्तदान

उता गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार हुरी प्रभावित क्षेत्रमा तीन ट्रक खाद्यान्न तथा लत्ताकपडा पठाइसकिएको छ। संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको संयन्त्र खोज÷उद्धार तथा राहत व्यवस्थापनमा तैनाथ रहेको प्रवक्ता सुवेदीले जनाए। प्रभावित क्षेत्रमा काठमाडौंबाट नेपाली सेना र नेपाल प्रहरीले विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोली त्यसतर्फ खटाइसकेको छ। नेपाल प्रहरी, प्रदेश २ र ३ स्थित प्रहरी र सशस्त्र प्रहरीका संयन्त्र प्रभावित क्षेत्रमा तैनाथ छन्। नेपाली सेनाले २२ नम्बर वाहिनीअन्तर्गत पर्साको चण्डीप्रसाद गण, बाराको तारादल गण र पर्सा राष्ट्रिय निकुञ्ज परिसरस्थित चन्दननाथ गणबाट पनि खोज, उद्धार तथा राहत व्यवस्थापनमा सैनिक खटिएका छन्। तीनवटै सुरक्षा निकायले घाइतेको उपचारमा रगत अभाव हुन नदिन रक्तदान अभियान नै चलाएका छन्।

गृह मन्त्रालयका प्रवक्ता सुवेदीले प्रकोपमा परी बारामा २७ र पर्सामा एकजनाको मृत्यु भएको बताए। घटनामा ६ सयभन्दा बढी घाइते भए पनि प्रदेश २ र ३ अन्तर्गतका विभिन्न अस्पतालमा दुई सय ७७ जनाको उपचार भइरहेको उनले जनाए। ‘घटनामा २८ जनाको मृत्यु र दुई सय ८४ जना गम्भीर घाइते भएकोमा दुई सय ७७ जनाको जिल्लामै र बाँकीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।’ प्रवक्ता सुवेदीले भने, ‘तीन सयभन्दा बढी घाइते उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।’ प्रकोप व्यवस्थापनअन्तर्गत अस्थायी आवासका लागि त्रिपालको व्यवस्था भइसकेको गृह मन्त्रालयले जनाएको छ।

 

 

प्रकाशित: १९ चैत्र २०७५ ०१:२६ मंगलबार

विनाशकारी हुरीबतास त्रिवि_शिक्षण_अस्पताल उपचार