समाज

प्रदेश सभाको बैठक स्थगित, राहत र पुनर्स्थापनाको लागि समिति

जनकपुर- बारा र पर्सामा विध्वंसात्मक हावाहुरी आएपछि प्रदेश नम्बर दुईको प्रदेश सभा बैठक स्थगित भएको छ।  मानवीय क्षतिप्रति समवेदना व्यक्त गर्दै सभामुख सरोजकुमार यादवले पूर्वनिर्धारित तालिका बमोजिम सोमबार दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठक स्थगित गरेको बताए।

अगामी बुधबार दिउँसो एक बजे बस्नेगरी प्रदेशसभा बैठक स्थगन गरेको सूचना जारी गर्दै सभामुख यादवले प्राकृतिक विपद्मा परेकालाई उद्धार र मृतक तथा घाइते परिवारको सहयोगमा जुट्न सांसदहरुलाई आग्रह गरेका छन्। ‘प्रदेशका पश्चिमी जिल्लामा आएको विध्वंसकारी हावाहुरीले पुर्‍याएको मानवीय क्षतिले सबै मर्माहित छन्’ सभामुख यादवले नागरिकन्युजसँग भने, ‘यति बेला सबैले मिलेर विपद्मा परेकालाई उद्धार र घाइतेलाई उपचारमा सहयोगमा जुट्नु आवश्यक छ।’

बाराबाटै निर्वाचित सभामुख यादवले संसद स्थगनगरी सोमबार बिहानै गृह जिल्ला पुगेका छन्। गत बिहीबारदेखि सुरु भएको प्रदेशसभाको तेस्रो अधिवेशन निरन्तर सञ्चालन हुनेगरी कार्यतालिका निर्धारण गरिए पनि बारा र पर्साको घटनामा ज्याने गुमाएका परिवारको सान्तवना र घाइतेहरुको सहयोगको लागि तत्काल बैठक स्थगन गरिएको हो। 

यसैबीच, प्रदेश मन्त्रीपरिषद्को आकस्मिक बैठकले बारा र पर्साको घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल जनही तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने र घाइतेहरुलाई उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। त्यस्तै, राहत तथा पुनस्र्थापना कार्यलाई समयमै प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय राहत तथा पुनस्र्थापना उच्चस्तरीय समिति गठन गरेको छ।

सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक उपसचिवलाई समितिको सदस्य चयन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

 

प्रकाशित: १८ चैत्र २०७५ ०५:४७ सोमबार

प्रदेश_२ प्रदेश_सभा राहत हावाहुरी