समाज

वन कार्यालयका प्रमुख सहित ३ जना पक्राउ

बारा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले डिभिजन वन कार्यालय बाराका प्रमुख सहित तीन जनालाई घुस सहित शुक्रबार पक्राउ गरेको छ। 

अख्तियारबाट खटेका प्रहरी नायब उपरिक्षक केशव भट्टराई नेतृत्वको टोलीले डिभिजन प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकर केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई १ लाख १५ हजार रुपैया घुस सहित पक्राउ गरेको अख्तियारले जनाएको छ। 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाैंडाका प्रमुख हुमकला पाण्डेले वन कार्यालयले आह्वान गरेको कबाडी ठेक्काको टेण्डर स्वीकृत गर्ने कार्यमा पक्राउ परेकाहरुले घुस रकम लिन खोजेको सूचना आएपछि त्यसको निगरानी बढाइएको बताइन्।

निगरानी बढाइएको अवस्थामा ठेक्कालाई स्वीकृत गर्न प्रमुख ठाकुर र सहायक वन अधिकृत केशरीले कार्यालय सहयोगी अधिकारी मार्फत घुस लिएको अवस्थामा पक्राउ गर्न सकिएको पाण्डेले बताइन्। 

पक्राउ परेकाहरु मध्ये केशरीको साथबाट नगद २५ हजार र प्रमुद ठाकुरलाई बुझाउने क्रममा अधिकारीको साथबाट ९० हजार रुपैयाँ नगद सहित कार्यालयबाटै पक्राउ गरिएको पाण्डेले बताइन्। पक्राउ परेका तीनै जना कर्मचारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको र थप कारवाहीको लागि आयोगको टंगाल स्थित कार्यालयमा पठाउने उनले जानकारी दिइन्। 

 

प्रकाशित: १५ चैत्र २०७५ ११:०५ शुक्रबार

पक्राउ वन_कार्यालय घुस