समाज

आमाको किरियामा एक्ली छोरी

सर्लाहीको बरहथवा स्थित मावली घरमा आमाको काजकिरियाका लागि कोरामा बसेकी स्वस्तिका । तस्बिर: टंक/नागरि

सर्लाही - जन्म मात्र हैन कर्मसमेत दिइरहेकी एकमात्र अभिभावक गुमाएपछि आईपरेको पीडाबीच सर्लाही जिल्लास्थित एक युवती कोरामा बसेकी छिन।

बरहथवा नगरपालिका–५, निवासी १८ वर्षीया स्वस्तिका सुनार हत्या गरिएकी आफ्नी आमाको किरियापुत्री बसेकी हुन्। सुनारकी आमा ३३ वर्षीया सुनिता विकको गत चैत ७ गते राती सुतिरहेको अवस्थामा खुकुरीले काटेर विभत्स हत्या भएको थियो। ‘आमाको छोरा भनेपनि छोरी भनेपनि म एक्लो सन्तान हुँ’, उनले भनिन्, ‘त्यसैले आमाको काजकिरियामा बसेको छु ।’ पुरुषले मात्र कोरामा बस्नुपर्ने हिन्दु परम्परा तोड्दै स्वस्तिकाले आमाको काजकिरिया गर्ने आँट गरेकी छिन्। कोरामा बसेकी उनलाई हजुरआमा, मामा लगायत आफन्तमात्र हैन स्थानीयले समेत सहयोग गरिरहेका छन्। 

जन्म दिने मात्र हैन मलाई पढाइ लेखाइदेखि सबै रेखदेख गर्ने एकमात्र अभिभावक आमा नै भएकाले आफू किरियापुत्रीको रुपमा कोरामा बसेको स्वस्तिकाले बताईन्। ‘जन्म मात्र हैन कर्म दिनका लागि मेरो बुबा भनेपनि आमा भनेपनि उहाँ मात्रै हुनुहुन्थ्यो’, एकमात्र अभिभावक गुमाएपछिको बज्रपातबीच मलिन अनुहार पार्दै उनले थपिन्, ‘अब मेरो पढाइ लेखाइ सहितको जीवनकालमा ठूलो चुनौती थपिएको छ।’ क्यानभास ईन्टरनेश्नल कलेज काठमाडौंमा बिबिएस पहिलो वर्षमा अध्ययनरत स्वस्तिकालाई एकमात्र अभिभावक गुमाएपछि ठूलो पीडा आईपरेको छ। बरहथवा स्थित चक्रजनता माविमा शिक्षिका समेत रहेकी सुनिताले नै छोरी स्वस्तिकाको पढाई लेखाई सहित सम्पूर्ण जिम्मेवारी बहन गरिरहेकी थिईन्।

महिला नेतृ एवं सुनिताकी छिमेकी कल्पना कटुवालले एकमात्र अभिभावक गुमाउँदा स्वस्तिका मर्माहत बनेको बताईन्। ‘यस्तो दुःखको घडीमा उनले हिन्दु परम्परा तोड्दै आफ्नो एकमात्र अभिभावकको काजकिरिया गर्नु रुढिवादी संस्कार तोड्नु पनि हो’, कटुवालले भनिन्, ‘महिलाले पनि पुरुष सरह हक अधिकार खोज्ने मात्र हैन, कर्तव्य पनि निभाउन सक्छन् भन्ने यो गतिलो उदाहरण हो।’

सुनिताको हत्या आरोपमा उनकै श्रीमान ३० वर्षीय रामजी विक पक्राउ परिसकेका छन्। पहिलो श्रीमानबाट जन्मिएकी स्वस्तिकालाई हुर्काउने देखि पढाई लेखाई सहित सम्पूर्ण रेखदेखको काम सुनिताले गर्दै आएकी थिईन्। पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरेकी सुनिताले झण्डै १३ वर्षअघि उदयपुरका रामजीसँग दोस्रो विवाह गरेकी थिइन्। बरहथवा बजारमै सुन पसलमा कालिगढको काम गर्ने रामजी सुनिताको माईतीघर छेउमै डेरामासँगै बस्दै आएका थिए।

 

प्रकाशित: १२ चैत्र २०७५ ११:०२ मंगलबार

महिला किरियापुत्री सर्लाही