समाज

होलीको अबिरले रिसायौ कि ...

होली गीत गाउँदै स्थानीय दाफाभजन टोली।

भक्तपुर – होली या होली तंचाया ला ल्यासे, अविर भती नं तय मज्युला ? (होलीका दिनमा अलिकति लगाइदिएँ अबिर, त्यो अबिरले रिसायौ कि तिमी ?)

झन्डै पच्चीस वर्षअघि बनेको नेपाल भाषाको चलचित्र ‘सिलु’ मा प्रयोग भएको यो लोकगीत होलीका बेला भक्तपुरमा गुन्जायमान हुन्छ। भक्तपुरका पाटीपौवा, सत्तल, चोक, बहाबही, दवलीमा साझँपख दाफाभजन (होलीका गीत गाउने) मा यो गीत होलीको केही दिन अघिदेखि नै गाउन सुरु हुन्छ।

विशेष गरी तचपाललगायतका ठाँउमा रहेका भीमसेन मन्दिरमा यो गीत गाउने चलन छ। स्थानीय एफएम रेडियोले पनि होलीका गीत बजाउन थालेका छन्।

यहाँका स्कुलकलेजका विद्यार्थीले मंगलबार होली खेले। होलीका दिन बुधबार बिदा हुने हुँदा सहपाठीसँग होली खेल्न नपाउने भएकाले उनीहरुले मंगलबार होली खेलेका हुन्।

हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई बहिनी होलिकासँगैं आगोमा राखी दाह गर्ने प्रयास गरेको तर प्रल्हाद नभई अग्निले नछुने होलिका नै दाह भएको घटनालाई लिई यो पर्वको नाम नै होली भएको जनविश्वास छ।

भक्तपुरको होली भने दतात्रय तचपाल टोलको भीमसेन मन्दिरबाट सुरु हुने परम्परा छ। यस दिन बिहानपख तचपाल टोलको उक्त मन्दिर वरपर दुई व्यक्तिले डोरीले बाँधेको अवस्थामा तीन हात जति लामो करिब ३० इन्च जति मोटो काठको लिंगोको नगर परिक्रमा गराई होली सुरु हुने परम्परा छ।

प्रकाशित: ६ चैत्र २०७५ ०२:०६ बुधबार

होली अबिर भक्तपुर