समाज

पूर्व–एसपी बिष्ट प्रहरी हिरासतमा

कन्चनपुर – निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्ली बिष्ट मंगलबार कन्चनपुर अदालतमा उपस्थित भएका छन्। मंगलबारबाटै अदालतले उनको बयान लिन सुरु गरेको छ। बिष्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरको हिरासतमा राखिएको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

स्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार सम्पर्कविहीन रहेका तत्कालीन एसपी विष्ट मंगलबार आफैं अदालतमा उपस्थित भएका थिए। ‘बिष्टको बयान लिन सुरु भएको छ,’ स्रेस्तेदार अवस्थीले भने, ‘उनको बयान नसकिएकाले बुधबार पनि लिइनेछ।’

अदालतको समय सकिएपछि विष्टलाई प्रहरीकोमा पठाइएको छ। उनको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। थुनछेक बहसपछि अदालतले सामान्य तारेखमा छोड्ने, धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गर्ने अवस्थीले बताए। सोही प्रकरणमा आरोपित तत्कालीन सिआइवीका डिएसपी अंगुर जिसी भने अझै अदालतमा उपस्थित भएका छैनन्। बिष्ट र जिसीको नाममा यसअघि जिल्ला अदालतले वारेन्टसहितको ३५ दिने सूचना जारी गरेको थियो।

विष्टले अदालतमा ‘आत्मसमर्पण’ गरे पनि जिसी अझै फरार रहेका छन्। फागुन २२ गते सरकारी वकिल कार्यालयले आठजना प्रहरीविरुद्ध जिल्ला अदालतमा फौजदारी अपराध संहिताअनुसार मुद्दा दर्ता गरेको थियो। बिष्ट , जिसी, ज्ञानबहादुर सेठी र एकेन्द्र खड्काविरुद्ध यातना दिएको र प्रमाण नष्ट गरेको गरी दुई मुद्दा दर्ता गरिएका थिए भने अन्य चार प्रहरीविरुद्ध प्रमाण नष्ट गरेको मात्र मुद्दा दर्ता गरिएको छ।

यसअघि अदालतमा उपस्थित भएका ६ प्रहरीलाई अदालतले फागुन ३० गते धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। डिएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्रबहादुर खड्का यातना दिएकोमा पाँच लाख र प्रमाण नष्ट गरेकोमा चार लाख गरी नौ–नौ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए भने प्रमाण नष्ट गरेकोमा प्रहरी निरीक्षक जगदीश भट्ट चार लाख, प्रहरी नायव निरीक्षक हरिसिंह धामी तीन लाख ५० हजार, प्रहरी नायव निरीक्षक रामबहादुर धामी तीन लाख र प्रहरी जवान चादनी साउद दुई लाख ५० हजार धरौटीमा छुटेका थिए।

गत पुस महिनामा निर्मलाकी आमा दुर्गादेवी पन्तले तत्कालीन एसपि डिल्ली बिष्टसहित आठ जना प्रहरीविरुद्ध प्रमाण नष्ट गरेको भन्दै जाहेरी दिएकी थिइन्। भने दिलिप बिष्टका दाजु खडक बिष्टले तत्कालीन एसपी विष्ट, सिआइवीका डिएसपी अंगुर जिसी, डिएसपी सेठी र प्रहरी निरीक्षक खड्काले यातना दिएको भन्दै जाहेरी दिएका थिए। प्रमाण नष्ट गरेको भन्दै एसपी बिष्ट र इन्सपेक्टर खड्कालाई भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना निलम्वनमा परेका छन्।

प्रकाशित: ६ चैत्र २०७५ ०१:३४ बुधबार

निर्मला_पन्त हत्या_प्रकरण डिल्ली_बिष्ट हिरासत