काठमाडौं - करिब तीन वर्ष अघि राष्ट्रिय पुनर्निमाण प्राधिकरणले खरिद गरेको ल्याटप तथा डेस्कटपमा ठेक्का मिलेमतो गरी अनियमितता गरेको तथ्य फेला परेको छ। प्राधिकरणका कम्प्युटर इन्जिनियर हरिप्रसाद प्रोख्रेल र म्याक्स इन्टरनेसनलका प्रबन्धनिर्देशक अकबर हुसेनको मिलेमतोमा प्राधिकरणले तोकेको मापदण्डविपरीत न्यून गुणस्तरको ल्यापटप तथा डेस्कटप खरिद गरेको खुल्न आएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक आइटी सल्लाहकार अस्गर अलीसँग मिलेर सूचना प्रविधिसम्बन्धी महŒवपूर्ण आयोजनाहरुमा चलखेल गरिरहेका पोख्रेलले ठेक्का अनियमितता गरेका हुन्। करिब ७५ लाख मूल्य बराबरको ल्यापटप तथा डेक्सटप खरिद ठेक्कामा प्राधिकरणले माग गरेको ल्यापटपको स्पेसिफिकेसन बिजनेस सिरिज स्टान्डर्ड रहेको तर प्राविधिक कर्मचारीसँगको मिलेमतोमा म्याक्स इन्टरनेसनलले कन्जुमर सिरिजको आपूर्ति गरेको थियो।
प्राधिकरणले माग गरेबमोजिमको प्राविधिक मापदण्ड पूरा नभएका ल्यापटप आपूर्ति गर्नका लागि स्वीकृत दिएको पाइएको हो। म्याक्स इन्टरनेसनलले तोकिएको मापदण्डभन्दा कमसल सामान आपूर्ति गर्नका लागि स्वीकृत पाउनुको पछाडि आर्थिक स्वार्थ भएको सार्वजनिक खरिदका जानकार बताउँछन्। ल्यापटक खरिद प्रक्रियामा पोख्रलले सार्वजनिक खरिद कार्यमा संलग्न पदाधिकारीको आचरण पालना नगरेको स्रोतको भनाइ छ।
इन्जिनियर पोख्रेलको प्राधिकरणका तत्कालीन सिइओ डा. गोविन्द पोखरेलसँग पारिवारिक सम्बन्ध भएका कारण खरिदसम्बन्धी हरेक निर्णयमा हाबी हुने गरेको स्रोतले बतायो। प्राधिकरणको प्रस्तावअनुसार नै उनलाई पुनर्निर्माण प्राधिकरण हेर्ने गरी तोकेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ। इन्जिनियर पोख्रेलले उपकरण खरिद सम्बन्धीमा दिएको रायबमोजिम काम भएको खरिदसम्बन्धी कागजातबाट प्रस्टिन्छ।
प्राधिकरणले माग गरेको प्राविधिक स्पेसिफिकेसन बमोजिमको ल्यापटक उपलब्ध गराउने प्रस्ताव पेस गरेको आपूर्तिकर्तालाई ठेक्का नदिई मागबमोजिमको प्राविधिक मापदण्ड पुरा नगरेको आपूर्तिकर्तालाई ठेक्का दिएको कागजातबाट देखिन्छ।
प्राधिकरणको बोलपत्रमा माग गरेको ल्यापटपको प्रोसेसर स्पिड न्यूनतम मापदण्ड २.६ गिगाहर्ज हुनुपर्नेमा आपूर्तिकर्ता म्याक्सले आपूर्ति गरेको ल्यापटप २.४ गिगाहर्ज मात्र छ। त्यस्तै, इन्पुट डिभाइस र किवोर्ड पनि तोकिएको मापदण्डविपरीतको छ। सार्वजनिक खरिद कानुन र अभ्यासअनुसार बोलपत्रदाताले बोलपत्र पेश गर्दा न्यूनतम मापदण्डभन्दा बढीको उपकरण दिन पाइने तर कमको दिन नपाइने व्यवस्था छ। तर इन्जिनियर पोख्रेलसँगको मिलेमतोमा आवश्यक प्राविधिक मापदण्ड पूरा नगरेको ल्यापटप प्राधिकरणले खरिद गर्न बाध्य भएको स्रोतको भनाइ छ।
पोख्रेलले नियम विपरीत काम नगरेको बताउँदै खरिदसम्बन्धी सबै निर्णय आफूले नगरेको बताए। उनले भने, ‘मैले कसैको स्वार्थमा र प्रलोभनमा परेर निर्णय दिएको छैन।’
सार्वजनिक निकायले बोलपत्रमा तोकेको प्राविधिक स्पेसिफिकेसनविपरीतको प्रस्ताव पेस गर्ने आपूर्तिकर्तालाई ठेक्का दिनु अनियमितता र ठेक्का मिलेमतो भएको अधिवक्ता सुशील अधिकारीको भनाइ छ। उनले भने, ‘बोलपत्रदाताले पेश गरेको उपकरण प्राविधिक स्पेसिफिेकेसन्स अनुसारको छैन भनेर जान्दा जान्दै ठेक्का दिने नियतले काम गर्नु अख्तियारको दुरुपयोग हो।’ कार्यलयले माग गरको प्राविधिक रिक्वायरमेन्ट विपरीतको गुणस्तरहीन उपकरण खरिद गर्न भूमिका खेलेको र राज्यलाई हानी नोक्सानी हुने कार्य गरेकाले अख्तियारले छानबिन गर्नुपर्ने उनको धारणा छ।
‘बोलपत्रको प्राविधिक स्पेसिफिकेसन अनुसारको प्रस्ताव पेस नगर्ने फर्महरुको बोलपत्र स्वीकृत गर्दै जाने हो भने त्यस्ता आफूर्तिकर्ताहरुले आगामी बोलपत्रहरुमा पनि सो बमोजिमको नै प्राविधिक स्पेसिफिकेसन पूरा नगर्ने तर ठेक्का हात पारेर कमसल मालसामान आपूर्ति गर्ने अवस्था आउँछ,’ अधिवक्ता अधिकारीले भने।
प्रकाशित: ३ चैत्र २०७५ ०५:०५ आइतबार