समाज

'नेपाली मिडिया भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा'

काठमाडौ - नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीले नेपालमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्। न्यूयोर्कमा बुधबार आयोजित परिवार र सामाजिक सुरक्षा विषयक छलफल कार्यक्रममा बोल्दै ज्ञवालीले मिडियाले अग्रपंक्तिमा रहेर भ्रष्टाचार तथा गलत कार्यका विरुद्ध कलम चलाइरहेको बताइन्। नेपालमा निजी क्षेत्रका मिडियाको आगमनसँगै त्यसले प्रजातान्त्रिक प्रणालीको खबरदारीमा भूमिका खेलिरहेको बताइन्। ‘प्रजातन्त्रको पुनःस्थापनापछि मिडियाले जीवन्त बन्ने अवसर पाएका छन्,’ ज्ञवालीले भनिन्। एक दशक लामो गृहयुद्धको अन्त्यका लागि पनि नेपाली मिडियाको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

नेपाली मिडियामा आफ्नो परिवारको समेत योगदान रहेको बताउँदै उनले संविधान निर्माण प्रक्रियाको पछिल्लो एक दशकमा मिडियाले अग्रभागमा रहेर नागरिकको अधिकारका लागि पैरवी गरेको बताइन्। ‘हाम्रो मुख्य ध्यान नागरिकको आवाजको प्रतिनिधित्व गर्नमै रह्यो,’ सम्बोधनका क्रममा उनले भनिन्। ‘हामीले मिडियाको माध्यमबाट पारिवारिक मूल्य प्रणालीका बारेमा पनि वकालत गर्ने गरेका छौं। असल, स्वस्थ र समृद्ध परिवार नै खुसीको मुख्य आधार हो’ ज्ञवालीले भनिन्। राज्यलाई समृद्ध बनाउनका लागि पनि परिवारको मुख्य भूमिका हुने उनको भनाइ थियो। अहिले पनि नेपालको प्रतिव्यक्त आए एक हजार अमेरिकी डलरभन्दा कम रहेको भन्दै ज्ञवालीले सरकारले अघि सारेका सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरु पनि खासै प्रभावकारी नभएको बताइन्।

नेपालमा साना कृषि कर्ममा महिलाहरुको भूमिका मुख्य हुने भन्दै उनले महिलाहरु नेपाली परिवारका आधार भएको बताइन्। महिलाहरुले घरमा र कार्यस्थलमा उत्तिकै सहभागिता जनाइरहेको भन्दै उनले महिलाहरुलाई व्यापार तथा आर्थिक क्षेत्रमा पनि समान सहभागिताकाका लागि काम गरिरहेको उनको भनाइ थियो। पछिल्लो एक दशकमा नेपालमा महिला सहभागिता बढेको भन्दै उनले सरकारी सेवा, उद्योगलगायतका अन्य क्षेत्रमा पनि महिलाहरुको महत्वपूर्ण सहभागिता रहेको बताइन्। महिलाहरुमाथि हुने सबैकिसिमका विभेद अन्त्यका लागि मिडियाले मिहनेत गरिरहेको उनको भनाइ थियो। ज्ञवालीले नेपाली महिलाहरुको अवस्था अन्य दक्षिण एसियाली मुलुकका महिलाको तुलनामा धेरै राम्रो छ भन्न पाउँदा गर्व महसुस हुने बताइन्।

कार्यक्रममा संयुक्तराष्ट्र संघीय आर्थिक तथा सामाजिक मामिला विभागकी रेनता कास्जमार्सका, संयुक्तराष्ट्र संघको परिवार विकासका लागि अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि एलेक्स भजक्विज, डब्लुएफडब्लुपिआईकी प्रतिनिधि जेन्नी कार्लाे डब्लुएफडब्लुपिआई जर्मनकी उपप्रमुख निकोली ला होग्युलगायतले आफ्ना विचार व्यक्त गरेका थिए।

प्रकाशित: १ चैत्र २०७५ ०३:०२ शुक्रबार

नेपाल_रिपब्लिक_मिडिया_प्रालि शोभा_ज्ञवाली सामाजिक_सुरक्षा भ्रष्टाचार