समाज

विद्यार्थीले उठाए फोहोर

फोहोर उठाउँदै सनवे कलेजका विधार्थी।    तस्बिरः श्याम राई/नागरिक

काठमाडौं – काठमाडौं महानगरपालिकाले फोहोर नउठाएपछि मैतीदेवीस्थित सनवे कलेजका विधार्थीहरूले मंगलबार सेतोपुलनजिकै थुप्रिएको फोहोर उठाएका छन्। फोहोरको दुर्गन्धले टोलबासीलाई सास्ती भएपछि उनीहरूले फोहोर उठाएका हुन्। सनवे कलेजका विद्यार्थी सोम गुरुङले महानगरपालिकाले फोहोर नउठाएकाले फोहोरको दुर्गन्धले स्थानीय र सर्वसाधारणलाई सास्ती भएपछि फोहोर उठाएको बताए।

‘थुपारिएको फोहोरको दुर्गन्धले स्थानीयलाई सास्ती परेको छ। तर फोहोर उठाउने निकायले कुनै पहल गरेका छैनन्,’ उनले भने, ‘सबै नागरिकलाई फोहोर व्यवस्थापनमा चेतना दिनका लागि हामीले फोहोर उठाएका हौं। यसरी सार्वजनिक ठाउँमा फोहोर फाल्नुहुँदैन भन्ने चेतना स्थानीयमा जागृत होस् भनेर पढाइसँगै हामीले सरसफाइको काम पनि गर्दै आएका छौं।’

आफ्नो ठाउँ सरसफाइको जिम्मा महानगरपालिकाको मात्रै होइन, हाम्रो पनि हो,’ उनले भने, ‘स्वास्थ्य रहनको लागि आफैंबाट काम सुरुवात गर्नुपर्छ। यो सबैको दायित्व हो।’ विद्यार्थी सोम गुरुङका अनुसार त्यहाँको सबै फोहोर जम्मा गरेपछि महानगरपालिको गाडी बोलाएर डम्पिङ साइट पठाइनेछ।

प्रकाशित: २९ फाल्गुन २०७५ ०२:१३ बुधबार

सनवे_कलेज विधार्थी फोहोर दुर्गन्ध