समाज

ताप्लेजुङमा तीन दिनमा ३ जना मृत फेला

ताप्लेजुङ – पछिल्लो तीन दिनमा ताप्लेजुङमा ३ जना मृत अवस्थामा भेटिएका छन्। ति मध्ये एक जनाको भने अस्थिर पञ्जरमात्र फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुका ५८ वर्षीय सुर्यमान पन्दाक मृत भेटिएका हुन्।

प्रहरीको सञ्चार शाखाका अनुसार बेंशीमा रहेको आफ्नो खेतमा बस्तु चराउन जान्छु भनी शुक्रबार घरबाट हिँडेका उनी बेलुकासम्म समेत घरमा नफर्किएकोले खोजी गर्दा शनिबार बिहान बग्रेनी भन्ने स्थानमा मृत अवस्थामा भेटिएका थिए। उनको लडेर मृत्यु भएको स्थानीयले आाशंका गरेका छन्।

उता फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुका ५५ वर्षीय दिलप्रसाद लिम्बू समेत मृत अवस्थामा भेटिएका छन्। घरबाट हराएका उनलाई इखाबुको तेन्दोङ भीरबाट लडेर तमोर नदीको किनार खाँेचमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।

यता, महिनादिन देखि हराएकी फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपकी ७६ वर्षीय चन्द्रमाया राईको शरिरको अस्थिपञ्जर मात्र रहेको अवस्थामा फेला परेकी छन्। उनी महिनादिन अघि नै हराएको खबर प्रहरीकोमा आएको थियो। प्रहरीले सबै घटनाका बारेमा अनुसन्धान जारी रहेको जानकारी दिएको छ। 

 

प्रकाशित: १८ फाल्गुन २०७५ १०:५२ शनिबार

ताप्लेजुङ मृत_फेला