समाज

विकासले छोएन माझी समुदायलाई

खोटाङको लिच्कीराम्चे रसुवाघाटका हरि माझी र सूर्य माझीका परिवार। तस्बिर : दमन राई/नागरिक

खोटाङ - खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे रसुवाघाटका हर्कबहादुर माझीको जग्गाको तेर्सोबाट गाईघाट–दिक्तेल सडक बनेको छ। नेपाल सरकार र स्विजरल्यान्ड सरकारको संयुक्त लगानीमा २०६७ सालदेखि निर्माण सुरु गरिएको सो सडक हाल कालोपत्रेको चरणमा छ। तर जिल्लाकै आर्थिक र भौतिक परिवर्तनमा टेवा पु¥याउने गाईघाट–दिक्तेल सडकले हर्कबहादुरको जीवनस्तरमा भने कुनै फरक पार्न सकेको छैन। यस्तै सुनकोसी किनारमा रहेका रसुवाघाटकै बाबुराम माझीका लागि पनि आँगनकै सडक ‘कागलाई बेल बाक्यो हर्ष न विस्मात’को अवस्था छ। जग्गा मिचेर बनेको सडकबाट बाबुरामले कुनै पनि फाइदा लिन सकेका छैनन्। खोटाङ र पूर्वी तराई सडकले छोएको रसुवाघाट आसपासमा होटल तथा व्यवसाय गरेर आर्थिक प्रगति गर्नेको संख्या बढिरहँदा स्थानीय माझी समुदायको अवस्था भने उस्तै छ।

जग्गा मिचेर सडक बनेको छ। तर उनीहरूले कुनै व्यापार–व्यवसायको अवसर सिर्जना गर्न सकेका छैनन्। बाबुबाजेका पालामा जस्ता थिए, अहिले पनि माझी समुदायको अवस्था उस्तै रहेको स्थानीय ध्यानबहादुर माझीले बताए। ‘सडक बन्नु र नबन्नुमा हामीलाई खासै फरक परेको छैन,’ उनले भने, ‘ठूलो कत्ले (माछा) पर्छ भनेर कोसीमै अलमलिँदै बस्यौं, त्यही भएर कहिले अघि बढेनौं।’ हर्कबहादुर माझी (ख), शुक्र माझी र बाबुराम माझीले सडक किनारामा निस्केर पसल चलाउन थालेका भए पनि व्यावसायिक रूपमा जम्न सकेका छैनन्। लिच्कीराम्चे पुछारमा रहेको रसुवाघाटमा नौ घर माझीको बसोबास छ। दिक्तेल–गाईघाट, दिक्तेल–सिमपानी र गाईघाट–सिमपानी सडकको त्रिवेणी रसुवाघाटमा बजार विस्तार हुने क्रम तीव्र हुँदा माझी समुदायको अवस्थामा भने कुनै परिवर्तन आउन सकेको छैन। सडक किनार र कुनामा होटल तथा पसल खुल्ने क्रम दिनानुदिन बढिरहँदा माझी समुदायका व्यक्ति भने व्यावसायिक रूपमा टिक्न नसकेको स्थानीय बाबुराम माझीले बताए।

जग्गा मिचेर सडक बनेको छ। तर उनीहरूले कुनै व्यापार–व्यवसायको अवसर सिर्जना गर्न सकेका छैनन्। बाबुबाजेका पालामा जस्ता थिए, अहिले पनि माझी समुदायको अवस्था उस्तै रहेको स्थानीय ध्यानबहादुर माझीले बताए।

एसइई उत्तीर्ण माझी कोही छैनन्
अशिक्षा र गरिबीका कारण रसुवाघाटका माझी समुदायले हालसम्म सडकलाई उपयोग गर्न नसकेका हुन्। यहाँ कक्षा १० उत्तीर्ण गरेका कोही माझी छैनन्। ‘पढ्ने बेला कोसी (नदी) छाडिएन,’ स्थानीय हरि माझीले भने, ‘बाआमाले पनि पढाएनन्। त्यही भएर हामीचैं बालबच्चा पढाउँदैछौं।’ माझी समुदायलाई शिक्षाप्रति प्रोत्साहन गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बतासेको भँडारेघाटस्थित पञ्चकौशिका आधारभूत विद्यालयलाई मावि तह पठन–पाठनका लागि स्वीकृति प्रदान गरेको छ। भँडारेघाट र रसुवाघाटका माझी समुदायलाई लक्ष्य गरेर फागुन ७ गते मावि तह सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले जानकारी दिए। गाउँनजिक मावि नहुँदा भँडारेघाटमा माझी समुदायका विद्यार्थीले कक्षा ८ बाटै पढाइ छाड्ने गरेका थिए।

माझी समुदायमा प्रभुको प्रवेश
अशिक्षा र गरिबीको चपेटामा रहेका रसुवाघाटका माझी समुदायमा धर्म परिवर्तनको लहर सुरु भएको छ। जाँडरक्सी खाने भएका कारण स्वास्थ्य र परिवारमा पार्ने असरलाई देखाएर माझी समुदायलाई विशेष गरी क्रिस्चियन धर्ममा आकर्षण गराउने गरिएको पाइएको छ। धर्म परिवर्तनका कारण स्थानीय भर्तमान र पूर्णीमाया माझीका छोराहरू विभाजित भएका छन्। बाह्र छोरा र पाँच छोरीलाई जन्म दिएकी पूर्णीमायाको ७६ वर्षको उमेरमा गत माघ ३ गते मृत्यु भएपछि छोरा हरि र सूर्यले क्रिस्चियन परम्परा र अर्का छोरा वीरबहादुरले हिन्दु परम्पराअनुसार काजक्रिया गरेका छन्। पाँच दिनसम्म फलफूल मात्र खाएर कपाल नखौरी किरियामा बसेका क्रिस्चियन धर्मावलम्बी छोराहरूले आठ दिनमा विधि पूरा गरे भने तीन दिन कुरीमा बसेका हिन्दु धर्मावलम्बी छोराले नौ दिनमा आमाको काजकिरिया पूरा गरेका थिए।

प्रकाशित: १७ फाल्गुन २०७५ ०२:४९ शुक्रबार

खोटाङ विकास माझी_समुदाय