समाज

कष्टकर ढंगले रात काट्यौं : उद्धारकर्ता

ताप्लेजुङ - ‘बुट्टा समाएर र ढुंगाको आड लिएर रात बितायौं। पानी परिरहेको थियो। चिसोले हात कठ्यांग्रिएर अडिन हम्मे परेको थियो। खानेकुरा केही थिएन। ११ बजेपछि कताबाट हो, अलिकति चाउचाउ र मकै आइपुग्यो। खाँदा दुवै हात प्रयोग भए खसिएला कि भन्ने डर। एक हातले बुट्टा समातेर अर्को हातले भेटेको अलिकति खानेकुरा खाइयो।’ ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परेपछि उद्धारका लागि काठमाडौंबाट आएका नेपाली सेनाका सिएआरटी टिममा कार्यरत मेजर चिरञ्जीवी चौलागार्इंको भनाइ हो यो। दुर्घटनास्थलमा अत्यन्त कष्टकर ढंगले रात बिताएको अनुभव सुनाउँदै बिहीबार उनले भने, ‘रातभरि नै पानी परिरह्यो। हिउँ पनि रोकिएन। प्लास्टिकले भ्याएसम्म त ओडियो तर त्यसले रातभर के थाम्नु ?’ घटनास्थलमा भोकप्यासले रन्थनिँदै अनिँदो अवस्थामा बिहानीको प्रतीक्षा गरिरहँदा बाँकी शव कसरी सुकेटारसम्म पु¥याउन सकिएला भन्ने चिन्ताले पनि खुबै गाँजेको अनुभव उनले सुनाए।

मेजर चौलागार्इंसँगै रातभरि घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जयसिंह थापाले पनि खब कष्ट बेहोरेको जानकारी दिए। ‘पानी र हिउँ एक साथ परिरहँदा पनि ढलेपलेका दाउरा बालेर एकैछिन आगो ताप्न पाउँदा पनि घरमै बसेर सिरकको न्यायोमा रमाएको महसुस ग-यौं,’ उनले भने, ‘आगो निभेपछि फेरि हिउँ र पानीमा रुझ्नुप¥यो तर धैर्य गर्नुको विकल्पै थिएन।’ भेला पारिएका शव रुँगिरहेका बेला आफ्नै ज्यानसमेत जोखिममा रहेको आशंकाले मनमा अनेक भावना पैदा गराएको पनि डिएसपी थापाले सुनाए। ‘घटनास्थलबाट नजिकको बस्ती पुग्न पनि कम्तीमा तीन घन्टा लाग्ने,’ अघिल्लो रातको घटना स्मरण गर्दै उनले भने, ‘सुरक्षाका लागि खटिएका सबैलाई शान्त हुन, नआत्तिन र दह्रो आड लिएर मात्र बस्न आग्रह गरिरह्यौं।’ घटनास्थलमा पुग्दा जलिरहेको हेलिकोप्टर र जलेका शवका छरपस्ट अवशेषहरू मात्र भेटिएको उनले सुनाए। उनका अनुसार एउटा शव उछिट्टिएर घटनास्थलनजिकै दुईवटा ढुंगाका बीचमा अड्किएको थियो। ‘छातीमुनिको भाग पुरै जलेको थियो। घोप्टो परेको अवस्थामा रहेको सो शव उल्टाएर हेरें। मन्त्रीज्यूको शव हो कि जस्तो लाग्यो,’ पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शवबारे जानकारी दिँदै डिएसपी थापाले भने, ‘अनुहार पुरै कुच्चिएको थियो। निकै बेरपछि मात्र उहाँकै शव हो भन्ने पहिचान भयो।’

सातैजनाको मृत्यु भएको पुष्टि भइसकेको हुँदा मन्त्री अधिकारीको शवसँगै बाँकी सबैको शव पनि उठाउनुपर्ने जिम्मेवारी उद्धार टोलीको थियो। अप्ठेरोे खोंचमा हेलिकोप्टर बस्न सक्ने कुनै सम्भावना थिएन। ‘उद्धारकर्ताहरूले नै शव बोकेर सुरक्षित स्थानमा लैजान पनि सहज नभएपछि हेलिकोप्टरबाट लिफ्टिङ गर्ने निष्कर्ष निकाल्यौं,’ सुरक्षा टोलीका कमान्डरद्वय मेजर चौंलगाई र डिएसपी थापाले भने। हेलिकोप्टरमा टाँगिएको डोरीमा झुन्डिएर घटनास्थलमा दुई–दुईजना पुग्ने भएकाले छरपस्ट शव पोका पारेर डोरीमा झुन्ड्याइएको बास्केटमा बाँधी पठाउनुबाहेक अरू केही उपाय नभएपछि त्यही तरिका अपनाएको मेजर चौलागाईंले भने। उनका अनुसार बुधबार साँझतिर एकपटकमा दुईवटाका दरले चारवटा शव त्यही विधिद्वारा सुकेटार एयरपोर्ट पु¥याइएको हो। साँझमा एक्कासि बादलले आकाश ढाकियो। अन्तिमपटक तीनवटा शव ल्याउन पुगेको नेपाली सेनाको हेलिकोप्टर बाक्लो कुहिरोका कारण असम्भव भएपछि फर्किएको थियो। त्यसको एकछिनपछि नै वर्षा र हिमपात सँगै सुरु भएको कमान्डरद्वयले बताए।

शव सुकेटार पु-याउन नसक्ने अवस्था सिर्जना भएपछि सेना र प्रहरीको उद्धार टोलीसँगै रातभर घटनास्थलमै बसेका माथिल्लो फेदीका अहेव उमानाथ पौडेलले भने, ‘रातभरि जाग्राम बसेर शव रुँगेको उद्धार टोलीका केही सदस्य यस्तो अवस्थामा थिए, अलिकति चलमलाए मात्रै पनि जीवन नै खतरामा पर्ने परिस्थिति थियो।’ उनका अनुसार बिहीबार बिहान एकछिन मौसम खुलेको मौका पारेर नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमा उद्धार कार्यमा संलग्न नेपाली सेनाका दुईजना डोरीमा झुन्डिएरै शव संकलन गरिएको स्थानमा पुगेका थिए। अघिल्लो दिनको जस्तै गरी बास्केटमा शव राखेर उद्धारकर्ता स्वयं पनि त्यसमा झुन्डिरहेको अवस्था डरलाग्दो देखिएको अहेव पौडेलले बताए। बाँकी तीन शव बोकेर सुकेटार विमानस्थलमा हेलिकोप्टर अवतरण गर्दा स्थानीयले उद्धारकर्ताको साहसिक कार्यको प्रशंसा गरेका थिए। ‘ज्यान नै धरापमा पारेर एउटा डोरीमा झुन्डिएर गरिएको उद्धार कार्यको कसले पो प्रशंसा नगर्ला र,’ स्थानीय ओमप्रकाश राईले भने।

प्रकाशित: १७ फाल्गुन २०७५ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App