समाज

हिमपातका कारण मुगुमा विद्यालय बन्द

मुगु- रातिदेखि लगातार परिरहेको हिमपातका कारण मुगुमा अत्याधिक चिसो बढेको छ। चिसोका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएको छ। 

लगातारको हिमपातले जिल्लाको पूर्वी करानमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ।
हिमपातका कारण यस क्षेत्रका सबै विद्यालय बन्द गरिएको छ भने भने गाई वस्तु पनि गोठ बाहिर निकाल्न नसकिएको आधारभूत विद्यालय पुलुका शिक्षक छिरिङ फुञ्जोक लामाले जानकारी दिए।

डोल्फू मुगु , चिताई, ताखा खारी , किम्री , पुअ , रिउसमा बढी हिउँ जमेको छ भने मान्छेको आवत–जावतसमेत बन्द भएको उनले बताए। यता छायानाथ रारा नगरपालिकाका सरकारी तथा निजी विद्यालय जाडो र हिमपातका कारण बुधबार बन्द भएका छन्।  रातिदेखि लगातार हिमपात भएपछि सदरमुकाम गमगढी बजार पनि सुनसान रहेको छ। 

माघ पहिलो साताबाट लगातार हिमपात हुँदा सडक यातायात ठप्प छ भने बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव देखिन थालेको छ।

हिमपातका कारण हवाई सेवा पनि प्रभावित भएको छ। रारामा भने दुई फिट हिउँ जमेको छ। वनतर्फको प्राविधिक शिक्षा तह दुईको परीक्षा दिने करिब चालिस जना विद्यार्थी हिउँ पर्दा पर्दै जुम्लातर्फ बिहान हिडे पनि भारि हिमपातका कारण घुच्ची लेकमा नै रोकिएका छन्।

जुम्लामा परीक्षा दिन बिहानै हिँडे पनि भारि हिमपात भइरहेकाले घुच्ची लेकको भुलभुलेमा रोकिनु परेको परीक्षा दिन हिडेका मुगुको छायानाथ रारा नगरपालिका– ४ का नन्दबहादुर रोकायाले जानकारी दिए।

 

प्रकाशित: १५ फाल्गुन २०७५ ०७:१४ बुधबार

हिमपात मुगु विद्यालय_बन्द