समाज

भरतपुरमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सालन

भरतपुर महानगरपालिका–९ मा स्थापना गरिएको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, बिरामीलाई स्वास्थ्य जाँचपुर्जी दिएर उद्घाटन गर्दै मेयर रेणु दाहाल । तस्बिरः नागरिक

चितवन – भरतपुर महानगरपालिकामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ। महानगरपालिकाको वडा नम्बर ९ को शिवालय मार्गमा स्थापना गरिएको स्वास्थ्य केन्द्र मंगलबार मेयर रेणु दाहालले उद्घाटन गरेकी छन्। स्थानीय १०२ वर्षीया विष्णुकुमारी खड्का र ९५ वर्षीया भागिरथी खड्कालाई बिरामी जाँचपुर्जी दिएर उनले स्वास्थ्य केन्द उद्घाटन गरेकी हुन्।

ससर्त अनुदानमार्फत सरकारले उपलब्ध गराएको आर्थिक वर्ष ०७४–०७५ को ९८ लाख २५ हजार र चालु आर्थिक वर्षको ४० लाख रुपैयाँ बजेटबाट उक्त केन्द्र सञ्चालन गरिएको हो। स्थानीय नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुँदै महानगरपालिकाले स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको मेयर दाहालले बताइन्। महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने नीतिअनुसार स्वास्थ्य केन्द्र स्थापना गरिएको उनले बताइन्।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र भरतपुर महानगरपालिकामा पहिलोपटक स्थापना गरिएको हो। केन्द्रबाट सम्पूर्ण रोगको ओपिडी सेवा, नसर्ने रोगको उपचार तथा परामर्श, आमा र बच्चाको उपचार, सरुवा रोगको रोकथाम तथा उपचार सेवा उपलब्ध हुनेछन्। यस्तै, ज्येष्ठ नागरिक तथा मानसिक रोगसम्बन्धी उपचारका साथै स्वास्थ प्रवर्द्धन तथा सचेतनाका कार्यक्रम पनि केन्द्रबाट सञ्चालन गरिने बताइएको छ।

केन्द्रमा प्रयोगशाला, फार्मेसी सुविधा पनि राखिएको छ। परम्परागत आयुर्वेद र योग सेवा पनि स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उपलब्ध हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले जानकारी दिए। साथै प्राकृतिक चिकित्सा र योग विधिको सेवा पनि यहाँबाट दिइने उनले बताए।

सहरी क्षेत्रमा बाहिरबाट आएर बसोबास गर्ने मानिसको संख्या धेरै हुने भएकाले सबैको स्वास्थ्य उपचारलाई समेट्न सरकारले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा ल्याएको हो। सोहीअनुसार भरतपुर महानगरपालिकामा पनि केन्द्रको स्थापना गरिएको हो। ‘यो भन्दा अगाडि देशमा १६ वटा यस्ता केन्द्र खुलेका छन्,’ प्रशासकीय अधिकृत सुवेदीले भने, ‘चितवनमा भने पहिलोपटक सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना भएको हो।’

केन्द्रमा १२ जनाको दरबन्दी राख्ने तयारी भइरहेको उनले जानकारी दिए। अहिले भने सात कर्मचारीको व्यवस्था गरेर केन्द्र सञ्चालनमा ल्याइएको हो। मेडिकल सुपरिटेन्डेन्ट, एचए, स्टाफ नर्स, ल्याब टेक्निसियन, कविराज लगायतका कर्मचारी केन्द्रमा छन्। भरतपुर महानगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्यचौकी १३, नगर स्वास्थ्य केन्द्र ८, आयुर्वैदिक औषधालय ६, बर्थिङ सेन्टर ४ र एउटा सामुदायिक स्वास्थ्य एकाइ छन्।

महानगरपालिकाका पहाडी तथा विकटमा रहेका सातवटा वडा स्वास्थ्य पहुँचबाट वञ्चित छन्। २९ वटा वडा रहेका महानगरपालिकाका वडा नम्बर ३, ७, १०, १२, १३, २४ र २८ मा स्वास्थ्य संस्था नरहेको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए।

प्रकाशित: ८ फाल्गुन २०७५ ०२:०६ बुधबार

भरतपुर सहरी_स्वास्थ्य_प्रवर्द्धन_केन्द्र मेयर रेणु_दाहाल