समाज

श्रीमतीपीडित पुरुष सम्बन्ध विच्छेदका लागि अदालत धाउँदै

बेझाङ - श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन्। श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन्। विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन्।

विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमान् श्रीमतीपीडित भएको भन्दै न्यायको उन्मुक्तिको बाटो खोज्दै अदालतमा पुगेका छन्। वैदेशिक रोजगारीका क्रममा श्रीमती परपुरुषसँग सम्बन्ध स्थापित गर्नु, वैदेशिक रोजगारीमा कमाएको धन हिनामिना गर्नुजस्ता कारण देखाउँदै पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको पाइन्छ।

चालु आर्थिक वर्षको छ महीनाको अवधिमा जिल्लामा सम्बन्धविच्छेदका १२२ मुद्दा दर्ता भएकोमध्ये ८७ महिला र ३५ पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत पाल्पामा पुगेर मुद्दा दर्ता गराएका छन्। हुन त यो तथ्याङ्कले पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर बढी देखिन्छ। तर जिल्लामा हिजोको अवस्था र अहिलेको अवस्थालाई हेर्दा सम्बन्धविच्छेदका लागि पुरुषको सङ्ख्या धेरै बढ्दो छ।

नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका मुद्दा लिएर पुरुष जिल्ला अदालत धाउन थालेका हुन्। भदौ १ गतेबाट नयाँ मुलुकी संहितासम्बन्धी ऐन प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउन पाइने व्यवस्था छ। सोहीअनुसार सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन जाने गरेका छन्। (रासस)

प्रकाशित: २५ माघ २०७५ ०६:४३ शुक्रबार

सम्बन्धविच्छेद अदालत