समाज

वन र खेत मासेर सडक नबनाउन भन्दै निवेदन

खोटाङ – खोटाङको बराहपोखरी गाउँपालिका–१ वडा कार्यालयले सामुदायिक वन तथा खेतीयोग्य जमिनलाई क्षति पुर्‍याएर सडक निर्माण गरेको भन्दै खोटेहाङ गाउँपालिका–७, लिच्किराम्चे कालापानीका बासिन्दाले विरोध गरेका छन्। यसरी क्षति पुर्‍याएर बराहपोखरी–रुम्दु–अजिंगरे सडक निर्माण सुरु गरिएको भन्दै विरोध भएको हो।

परामर्श र समन्वय नगरी लिच्किराम्चेको खैरेनी सामुदायिक वन क्षेत्र तथा सावा खोला किनारका उर्वर खेतलाई क्षति पुग्नेगरी रातारात सडक निर्माण थालिएको भन्दै यसलाई रोक्न आग्रह गर्दै स्थानीयले खोटेहाङ गाउँपालिका, इलाका प्रहरी कार्यालय, वडा कार्यालय र इलाका डिभिजन वन कार्यालयमा निवेदनसमेत दिएका छन्। खैरेनी सामुदायिक वनको ब्लक नम्बर २ का सम्पूर्ण क्षेत्र र सावा खोला किनारका गैरीखेतदेखि फेदीटारसम्मको खेत तथा तीनवटा कुलोमा उक्त सडक निर्माणले क्षति पुर्‍याउने भन्दै विकल्प खोज्न निवेदनमा स्थानीयले आग्रह गरेका छन्।

प्रकाशित: २० माघ २०७५ ०४:०५ आइतबार

खोटाङ बराहपोखरी_गाउँपालिका वन खेत सडक निवेदन