समाज

उदयपुरमा मेडिकल कलेज खुल्ने, कार्यदल टोलीद्वारा सम्भाव्यता अध्ययन

उदयपुरको त्रियुगा १३ भातिखर्कको जमिन अध्ययन गर्दै कार्यदल टोली सदस्य । तस्बिरः महेश्वर/नागरिक

उदयपुर – संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै उदयुरमा मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन सम्भाव्यता अध्ययन सुरु भएको छ। सदरमुकाम त्रियुगा नगरपालिकामा कलेज खोल्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न मिल्ने नमिल्ने सम्भाव्यता अध्ययन गर्न आएको टोलीले सरोकारवालासँग छलफल गर्नुका साथै बिभिन्न ठाउँको अवलोकन गरेको छ।

आइतबार आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित मेडिकल कलेज स्थापना सम्बन्धी अध्ययन कार्यदलका संयोजक प्राध्यापक मधुसुधन सुबेदी नेतृत्वको ३ सदस्यीय टोलीले नगरपालिकाका विभिन्न ४ ठाउँको स्थलगत अध्ययन अवलोकन गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार मन्त्रालयका उपसचिव तथा कार्यदलका सदस्यसचिव विष्णुप्रसाद मिश्र र विश्वविद्यालय अनुदान आयोगकका सदस्य विनोद भट्टराई सम्मिलित टोलीले ३–४ ठाउँको प्रारम्भीक सम्भाव्यता अध्ययन गरेको छ।

मेडिकल कलेज खोल्नक लागि चाहिने न्यूनतम २५ देखि ३५ बिगाह क्षेत्रफल भएको जमिन पत्ता लगाउन वडा नं. १३, १२, ३, ४ र ८ नं. वडाका बिभिन्न ठाउँमा टोली पुगेर अध्ययन गरेको हो।  खुल्ला र प्रशस्त खाली जमिन भएको क्षत्र आवश्यक पर्ने भएकाले टोलीलाई त्यस्ता ठाउँहरूको अध्ययन गराइएको नगरप्रमुख बलदेव चौधरी बताए। उनका अनुसार धेरै जग्गा चाहिने भएकाले बजारभन्दा अलग्ग प्रशस्त खाली रहेको जमिनको खोजी गर्ने क्रममा नगरपालिका १३ को भातिखर्कदेखि बहेडुवासम्म, १२ को विशनपुरदेखि लक्ष्मीपुरसम्मको क्षेत्रको अनुगमन गरिएको छ।

त्यस्तै वडा नं. ३ को चापदेखि जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहको खाली जमिन, ४ को जनज्योति जोरपोखरी सामुदायिक वनक्षेत्रको फर्सेट खोला आसपासको वनभोजस्थल र ८ नं. वडाको उत्तरायी टोलदेखि राजाबाससम्म जग्गाको पनि टोलीले अध्ययन अवलोकन गरेको छ।

धेरै क्षत्रफल जग्गा चाहिने भएकाले त्यसको उपलब्धता तथा मुख्य सडकसँगको पहुँचलाई ध्यान दिएर जग्गा खोजी गर्ने क्रममा विभिन्न ठाउँ पुगेर अध्ययन गरिएको हो। कलेज खोल्न धेरै जमिन र शिक्षण अस्पताल खोल्न उपयुक्त वातावरण चाहिने भएकाले बजारभन्दा केही टाटैका ठाउँहरूको अध्ययन गरिएको हो। त्रियुगा नगरपालिकाभित्र जग्गाको उपलब्धता, जनसंख्या, स्वास्थ्य अवस्था, बिरामीको सम्भावित चापलगायत विषयमा टोलीले जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग आवश्यक छलफल र अन्तरक्रिया गर्ने नगरपालिकाले जनाएको छ।

जमिनको सम्भाव्यता अध्ययनपछि टोलीले सरोकारवाला निकायका प्रमुख र जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको छ। जिल्ला समन्वय समिति उदयपुरले सोमबार आयोजना गरेको अन्तरक्रियामा टोलीले बिभिन्न सरोकारवाला व्यक्ति र निकायको सहभागितामा मेडिकल कलेज स्थापनाको आवश्यक्ता, पहुँच, निरन्तरता र सञ्चालन सम्भाव्यताबारे छलफल गरेको छ।

मेडिकल कलेज उदयपुरमा कति आवश्यक, कति सम्भावना र कति चुनौति भन्ने विषयमा जनप्रतिनिधि र सरोकारवालासँगको छलफलमा राय बुझ्न बृहत छलफल गराइएको जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले बताए। अन्तरक्रियामा गतवर्षको १५ औं अनसन तोड्न डा. गोविन्द केसीसँग सरकारले गरेको द्विपक्षीय सम्झौता अनुसार उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्ने निर्णय भए अनुसार अध्ययनका लागि टोली आएको कार्यदल संयोजक सुबेदीले बताए।

प्रकाशित: १५ माघ २०७५ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App