समाज

महर्षि महेश योगीको जन्मजयन्ती

काठमाडौं – वैदिक ज्ञानको विश्वव्यापी प्रचारप्रसारमा योगदान गरेका महर्षि महेश योगीको १०२ औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले विश्व शान्तिका लागि नेपालले नेतृत्व गर्नसक्ने महेश योगीको वाणीलाई पूरा गर्ने अभियानमा लाग्न आह्वान गरे।

विसं २०३१ मा टुँडिखेलमा आयोजना भएको प्रवचन कार्यक्रममा महर्षि महेश योगीले हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताएका थिए। कार्यक्रमममा भावातीत ध्यान शिक्षक मीनराज अधिकारीले हाल नेपालमा भइरहेको वैदिक अभियानका बारेमा जानकारी गराएका थिए। यसै अवसरमा नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा सामूहिक गुरूपूजन, भावातीत ध्यान, महर्षि महेश योगीको जीवनी र योगदानका बारेमा चर्चा भएको थियो।

कार्यक्रममा ब्रह्मचारीद्वय आत्माराम र रामप्रसादका साथै ४० वर्षदेखि भावातीत ध्यानमग्न निकोलस वेडवर्थले महर्षि महेश योगी, भावातीत ध्यान एवं महर्षिले विश्व समुदायलाई दिएको सन्देशका बारेमा प्रकाश पारेका थिए।

प्रकाशित: १ माघ २०७५ ०३:०० मंगलबार

वैदिक_ज्ञान महर्षि_महेश_योगी जन्मजयन्ती