समाज

स्थानीय पाठ्यक्रम बनाउन समिति

सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउन समिति गठन गरेको छ। नगर शिक्षा समितिको बैठकले सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्माको संयोजकत्वमा समिति गठन गरेको हो। पाँच सदस्यीय उक्त समितिलाई राजनीतिक, आर्थिक, भौगोलिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय, भौतिक, सांस्कृतिक, भाषिक लगायतका पक्ष समेटेर ६० दिनभित्र पाठ्यक्रमको ढाँचा निर्माण गर्न भनिएको छ।

समितिलाई आवश्यक स्रोतसाधन नगरपालिका कार्यालयले उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता शारदामाया तामाङले जानकारी दिइन्। नगरपालिकाले स्थानीय पहिचान र सम्भावनालाई चित्रण गर्ने पाठ्यक्रम निर्माण गरी विद्यालयमा पठनपाठन सुरु गर्ने लक्ष्य लिएको छ। नगर क्षेत्रका जनशक्तिलाई स्वरोजगारको बाटो पहिल्याउन सहज हुने र धार्मिक तथा सांस्कृतिक पक्षलाई लिपिबद्ध गरी प्रचारप्रसार गर्न सहयोग पुग्ने किसिमले पाठ्यक्रम तयार पारिने मेयर नाम्गेलजाङबु शेर्पाले बताए।

यस्तै वडा नम्बर ७, च्याल्सास्थित सगरमाथा आधारभूत विद्यालयलाई कक्षा ९ सञ्चालनका लागि स्वीकृति दिने निर्णय पनि नगर शिक्षा समितिको बैठकले गरेको छ। सल्लेरीमा रहेको समता स्कुलको अनुगमन गरी आवश्यक प्रक्रिया पूरा गरेको पाइए कक्षा २ सम्म पठनपाठनका लागि अनुमति दिने निर्णय पनि गरिएको शिक्षा संयोजक गोपालराज भुजेलले जानकारी दिए।

प्रकाशित: २५ पुस २०७५ ०१:३७ बुधबार

सोलुदूधकुण्ड_नगरपालिका स्थानीय_पाठ्यक्रम