समाज

हुँदै गरेको विवाह प्रहरीले रोक्यो

तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत - बराहताल गाउँपालिका–९ स्थित थारीगाउँकी रत्नकला मर्याङ्गीको घरमा छोराको विवाहको तयारी धुमधामका साथ चलिरहेको थियो। निम्त्याइएका आफन्त, इष्टमित्र र छरछिमेकीहरुले घर आँगन ढाकिएको थियो। ध्वजापताकाले घर सजाइएको थियो। विहेमा आएकाहरु नाचगान र खानपिनमा व्यस्त थिए। भोजका लागि खसी काटेर भतेरको तयारी गरिँदै थियो। घर नजिकैको आँगनमा विवाहका लागि मण्डप पनि तयारी अवस्थामा थियो।

बेलुका साढे पाँच बजे विहेको साइत अगाडी नै विहीबार प्रहरी निरीक्षक निरन्जन घिमिरेको टोली विवाह स्थल पुग्यो। प्रहरी देख्ने वित्तिकै आफन्तले १३ वर्षकी दुलही र १६ वर्षका दुलाहालाई लुकाए। दिउँसो साढे तीन बजे पुगेको प्रहरीलाई विहे रोक्नका लागि थप चार घण्टा समय लाग्यो। विवाद र छलफलपछि आफन्तहरु विवाह हुन लागेको जोडीलाई छलफलमा ल्याउन राजी भए। प्रहरीले विवाह हुनलागेका बालबालिकाका साथै स्थानीय जनप्रतिनिधि, आमा समूह, महिला सञ्जालका प्रतिनिधि र आफन्तलाई राखेर छलफल चलायो। ‘कलिलो उमेरमै बालविवाह गर्दा हुने बेफाइदा, कानुनी कारबाही लगायतका विषयमा लामो छलफल भयो’ प्रहरी निरीक्षक घिमिरेले भने, ‘अन्तमा दुबै पक्षका आफन्तले बालिका र बालकलाई आ–आफ्नो जिम्मा लगेर जान राजी हुनुभयो।’

कक्षा ७ मा पढ्दै गरेकी १३ वर्षीया बालिकालाई थारीगाउँका दीपक मर्याङ्गीले पुस १ गते भगाएका रहेछन्। त्यो थाहा पाएपछि गाउँको आमा समूह र महिला सञ्जालले विवाह रोक्न धेरै प्रयास गर्‍याे। केटा पक्षका आफन्तले उनीहरुको कुरा मानेनन्। ‘विवाह रोक्न हामीले धरै प्रयास गर्‍यौं’ स्थानीय अगुवा रमिता शाहले भनिन्, ‘अन्तिममा हाम्रो केही नलागेपछि प्रहरीलाई खवर गरेका हौं।’

शाहका अनुसार बालविवाह गर्नुहुन्न भन्ने स्थानीयहरुलाई जानकारी नभएको होइन्, तर जानीजानी बालविवाह गर्नेहरुको संख्या गाउँमा धेरै छ। ‘बालविवाह, बहुविवाह सम्वन्धी गाउँमा अहिले पनि संवाद कक्षाहरु चलिरहेका छन्, संवाद कक्षामा बसेकाहरु नै बालविवाह गराउन प्रोत्साहन गर्छन्’ उनले भनिन्, ‘यस्ता घटनाहरु गाउँमा धेरै छन्।’

बालिकाकी आमा रत्नकली सिंजालीले छोरीलाई यसअघि पनि आफू घर फर्काउन आएपनि जान नचाहेको बताइन्। ‘छोरी भर्खर सात कक्षामा पढ्छिन्, धेरै पढाउँला र ठूली मान्छे बनाउँला भन्ने सोचेको थिएँ’ उनले भनिन्, ‘भागे लगत्तै लिन आएकी थिएँ, जान मानिनन्।’ 

 

प्रकाशित: १९ पुस २०७५ ११:३२ बिहीबार

बालविवाह सुर्खेत बराहताल_गाउँपालिका