सिन्धुली – गुणस्तरहिन कालोपत्रे हुँदा मध्यपहाडी राजमार्गमा जताततै खाडलै खाडल भएको छ। सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीखण्ड अझै निर्माणकै चरणमा छ। केही स्थानमा पुल बन्न बाँकी छ भने केही स्थानमा सडक कालोपत्रे हुँनै बाँकी छ। कालोपत्रे भएको एकवर्ष नबित्दै राजमार्गमा खाल्डैखाल्डा हुन थालेको छ।
खुर्कोटदेखि सिन्धुलीकै सिमाना उदयपुरको घुर्मीसम्म करिब ६० किलोमिटर सडक केही स्थानबाहेक सबै स्थानमा कालोपत्रे भएपनि एकवर्षमै कालोपत्रे भत्किएको हो। सडकको छेउका वाल समेत भत्किएका छन् भने सडकको बीच–बीचमा कालोपत्रे भत्किएर ठुला खाल्डा भएका छन्। सडक निर्माणमै ठेकेदार र इन्जिनियरको गम्भीर लापरवाहीका कारण मध्यपहाडी राजमार्ग भत्किन सुरु गरेको हो। पूर्वी पहाडका दर्जनौ जिल्लालाई छोएर राजधानीसँग जोडिने यस राजमार्गमा अन्य जिल्लाको तुलनामा तीब्र गतिमै काम भएपनि गुणस्तरिय काम हुन नसकेको स्थानीय बताउछन्।
मध्यपहाडी राजमार्ग हुँदै खोटाङ दित्तेल मोटसाइकलमा सवार रहेका राजु राई बनेको एक वर्षमै भत्किनुले कमसल काम भएको पुष्टि भएको बताउँछन्। बनेको एक वर्षमै खाल्डा छल्दै सवारी चलाउनुपर्ने अवस्था देखियो, उनले भने, ठेकेदार र आयोजनाकै लापरवाहीले यसरी बिग्रिएको हुन सक्छ। उनले ठेकेदारले राम्रो काम गर्ने र आयोजनाले पनिसँगै अनुगमन मुल्याङकन गर्ने गरेमा यस्तो समस्या नआउने बताउँछन्।
राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी राजमार्ग पूर्वका विभिन्न जिल्लामा निर्माणाधिन छ। जसमध्ये सिन्धुलीको भु–भागमा पर्ने झन्डै ६० किलोमिटर सडकका केही स्थानबाहेक अन्य धेरै स्थानमा कालोपत्रे भइसकेको छ। कालोपत्रेलाई हेर्दा निकै पातलो कालोपत्रे गरी आखाँमा छारो हाल्ने काम भएको स्थानीयको भनाई छ। मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिकामा पर्ने अक्करे भिरमा लामो समयदेखि काम नभई अलपत्र अवस्थामा छ। यस्तै फिक्कल गाउँपालिकाको खाङसाङ खोलामा वर्षौदेखि पुल अलपत्र छ।
अक्करे भिरमा वर्षेनी हिउँदमा सुख्खा पहिरो र वर्षायाममा पहिरो खस्ने समस्या छ। माथिबाट ठुलो पहिरो खसेको स्थानमा राजमार्ग आयोजनाले नियन्त्रणमा कुनै पहल नगर्दा उत्तिकै जोखिम छ। यस्तै राजमार्गको बाशेश्वरका विभिन्न स्थान, वितिजोरको सुलिभन्जयाङ यस्तै डुडभन्ज्याङका विभिन्न स्थानमा खाल्डैखाल्डा छ।
कालोपत्रे भई निर्माण सम्पन्न भएको राजमार्ग समेत स्थानीयकै निजी जग्गा रहेको र हालसम्म सरकारले सार्वजानिक गरी लगत कट्टा नगर्दा स्थानीय समेत राजमार्गलाई सुरक्षित राख्न चासो देखाएको पाइदैन। एकातर्फ गुणस्तरहिन काम भएकाले जताततै भत्किएको छ भने स्थानीयले खेतबारीमा लगाउने पानी सडकका विभिन्न स्थानमा जताततैबाट बग्न दिएकाले राजमार्ग कच्चि हुँदै गएको छ।
प्रकाशित: १७ पुस २०७५ ०७:३१ मंगलबार