समाज

बनमा लागेको डढेलो नियन्त्रण बाहिर

खोटाङ - खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। स्थानीय ढाँडेपाखा–हाँडीखोलास्थित डम्बर्खुशिवालय सामुदायीक बनमा बुधबार दिउँसो १ बजेदेखि सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो।

स्थानीय भेला भएर डढेलो नियन्त्रणका प्रयास गरिरहेको भए पनि डढेलो फैलँदै गएकाले नियन्त्रण गर्न असम्भव भएको स्थानीय नेता याम राईले बताए। डढेलो क्रमशः फैलँदै गएका कारण साबिकको डम्बर्खुशिवालय–१ मा पर्ने हाँडीखोलाका १० घर जोखिममा परेका छन्। हावाले उडाएर ल्याएको डढेलोको लप्का र झिल्को नजिकै रहेका घरको छानामा पर्न सक्ने भएकाले स्थानीयलाइ विशेष सावधानी अपनाउन भनिएकाे छ। डढेलो निभाउने प्रयास जारी रहे पनि हावाहुरीका कारण कठिन भएको स्थानीयको भनाई छ। सामुदायीक बन उपभोक्ता समितिलाई डढेलोका बारेमा जानकारी गराइए पनि नआएपछि अन्य स्थानीय भेला भएर डढेलो निभाउन लागि परेका हुन्। डढेलो लाग्नुको कारण भने खुल्न सकेको छैन।  

 

प्रकाशित: ११ पुस २०७५ १३:४२ बुधबार

खोटाङ जन्तेढुंगा_गाउँपालिका डढेलो