समाज

महिला उद्यमी महासंघको साधारणसभा : सहयोगी वातावरण निर्माण गर्न आग्रह

साधारण सभाको उद्घाटन गरिदै। तस्बिर/ जी. थापा

बाँके - महिलालाई उद्यममा लाग्न सरकारले सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा महिला उद्यमीहरूले जोड दिएका छन्। महिला उद्यमी महासंघको १५ औँ वार्षिक साधारणसभामा बोल्दै उद्यमी महिलाहरूले यस्तो बताएका हुन्।

महिला उद्यमशीलताको विकासका लागि पितृसत्तात्मक सोचको अन्त्य गर्नु पर्ने साधारण सभाका सहभागीले बताए। उद्यम क्षेत्रमा सक्रिय हुन महिला उत्साही भए पनि पुरातनवादी सोचले अप्ठयारो पारिहरेको महिला उद्यमीहरूको भनाइ छ।

शुक्रबार नेपालगन्जमा भएको साधारण सभालाई ५ नम्बर प्रदेश भूमि व्यवस्था एवम् कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरिन्। महिलाले पछिल्लो समय उद्यमशीलताको क्षेत्रमा प्रगति गरिरहेको बताउँदै मन्त्री पौडेलले क्षमता विकासमा ध्यान दिनु पर्ने बताइन। उनले भनिन्, ‘बाँकेमा आएर महासंघले साधारण सभा गर्दा हामी खुसी छौं।’ महासंघले सबै जिल्लामा आफ्नो शाखा विस्तार गरेर महिलालाई उद्यममा लाग्न सहयोग गर्नुपर्ने भन्दै उनले महासंघले महिला उद्यमको विकासका लागि नयाँ परियोजना ल्याएर आए प्रदेश सरकार सहकार्य गर्न तयार भएको बताइन्। पौडेलले संघीय संरचनाले स्थानीय तहदेखि महिला उद्यमशीलताको विकासमा सहयोग गर्ने योजना ल्याएको बताइन्। साधारण सभाको उद्घाटन कार्यक्रममा सभासद् छाया पन्त शर्मा, महिला उद्यमी महासंघकी अध्यक्ष शारदा सुवेदीलगायतले राज्यले महिलालाई उद्यमक्षेत्रमा क्रियाशील बनाउन ठोस योजना ल्याउनु पर्ने बताइन्। सभासद शर्माले पछिल्लो समय उद्यम गर्ने महिला बढ्नु सुखद पक्ष भएको बताइन। महिलाहरूले महिलाले सञ्चालन गरेका उद्योगको सुरक्षा र लगानी संरक्षणको वातावरण निर्माण गर्न सरकारले ध्यान दिनु पर्नेमा शर्माले जोड दिइन।

साधारणसभामा महिला उद्यमी महासंघ नेपाल उपाध्यक्ष एवम् सदस्यता तथा जिल्ला विस्तार कमिटी संयोजक शोभा ज्ञवालीले महासंघको परिकल्पना, अभियान, लक्ष्य र महिला उद्यमीले भोग्नु परेका समस्याका बारेमा रिपोर्ट प्रस्तुत गरिन्। उद्यमी महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरणको लागि महासंघले आउँदा दिनमा अझ सशक्त योजना ल्याउनु पर्ने ज्ञवालीले बताइन।

प्रकाशित: ६ पुस २०७५ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App