समाज

जुम्ला जान विशेषज्ञ चिकित्सकको हानाथाप

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान । तस्बिरः डिबी/नागरिक

जुम्ला – दशक अघिसम्म जुम्ला जाने भन्ने वित्तिकै विशेषज्ञ चिकित्सक कारवाही गरेको सम्झिन्थ्ये। आफ्नो कार्यक्षेत्रमा नगएरै सरकारी सुविधा उपयोग गर्थे। चिकित्सकको नेतृत्वमा चल्ने कर्णालीका अस्पताल अहेव र अनमीले चलाउथे। स्थानीय मन नपराई नपराई उपचार गराउन जान्थे तर सरकारले दिइएको स्वास्थ्य सेवाप्रति विश्वास थिएन्। 

सामान्य बिरामी हुने बित्तिकै रेफर भएर सुर्खेत, नेपालगन्ज र काठमाडौं पुगेर उपचार गराउन बाध्य हुन्थे। जसका कारण रुपैयाँको सत्यानाश हुन्थ्यो। तर अहिले जुम्ला जान विशेषज्ञ चिकित्सक हानाथाप गर्छन्। अहिले जुम्ला गएर सेवा गर्न पाउनु भाग्यमानी सम्झन्छन्।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्थापनासँगै जुम्लामा विशेषज्ञ चिकित्सक नियमित बस्छन्। यहाँका बिरामी रोजीछानी चिकित्सकसँग उपचार गराउँछन्। 

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले दुर्गममा सेवा गर्ने र सेवा सुविधा पाउने हिसावले पनि चिकित्सकको रोजाई बन्ने गरेको बताए। उनले भने,“केहि विशेषज्ञको मनसाय दुर्गममा बसेर सेवा गर्ने हुन्छ, त्यो हिसावले आउछन्। प्रतिष्ठानको सेवा सुविधाले गर्दा पनि चिकित्सक आउने गर्छन। प्रतिष्ठानमा आउने वित्तिकै शैक्षिक पदमा बस्न पाइन्छ। प्रतिष्ठानमा नेपाल सरकार भन्दा माथिको सेवा सुविधा हुन्छ। अहिले दुर्गमभत्ता ९० प्रतिशत, प्रतिष्ठान भत्ता ५० प्रतिशत र ननप्राक्टिस भत्ता ९० प्रतिशत छ।

पहिले सरकारले उचित सेवा सुविधा उपलब्ध गराउँन नसक्दा यहाँ विशेषज्ञ चिकित्सकको खडेरी पथ्र्यो, रजिष्टार काफ्लेले भने, “अहिले जुम्लामै बसेर काम गर्न विशेषज्ञ चिकित्सक उत्साहित हुन्छन।” कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर पुजन रोकाया पछिल्लो समयमा विशेषज्ञ चिकित्सक आउन इच्छुक देखिएको बताउँछन्। उनले भने, स्थानीय चिकित्सक आफ्नो ठाउँको सेवा गर्ने भावका साथ काम गर्न आउँछन्, बाहिरबाट आउने चिकित्सक सिकिन्छ र सेवा दिन पाइन्छ भन्ने हिसावले प्रतिष्ठानमा आउने गर्छन्। 

सुर्खेतमा चार जना विशेषज्ञ चिकित्सक खटाएर लामो समय देखि उपचार सेवा प्रवाह गरिरहेको रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए। नेपालबाटनै मेडिकल शिक्षा अध्ययन पूरा गरेका  झण्डै ४५ युवा चिकित्सक जुम्लामा कार्यरत छन्। कर्णाली प्रतिष्ठानले एमबिबिएस र एमडिजिपी तहका अध्ययन अध्यापनका लागि चिकित्सा विधाका विभिन्न संकायका समिति गठन गर्ने क्रम जारी छ। कर्णाली रोग, भोग र पछौटेपनको घेरामा थियो, तर अहिले स्वास्थ्य पर्यटनको हब बन्ने दिशामा अग्रसर छ।

जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्य क्षेत्रको विकास गर्न सरकारले विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो। २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञ चिकित्सक सहित पाँच जना चिकित्सक तत्कालिन कर्णाली अञ्चल अस्पताल जुम्ला पुर्याइ सेवा शुरुवात गरेकोमा अहिले ४५ जना चिकित्सकले सेवा दिइरहेका छन्।

प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि तथा स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक तर्फको अध्ययन अध्यापन गराइरहेको छ। चालू शैक्षिक सत्रमा स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुवात गराउन प्रवेश परीक्षा लिइसकेको छ। गत वर्ष अस्पतालबाट ३९ हजार ९४२ बिरामीले सेवा लिएका थिए।

प्रकाशित: २८ मंसिर २०७५ ०६:३८ शुक्रबार

कर्णाली अस्पताल चिकित्सक हानाथाप